
झापा । गए राति झापाका विभिन्न स्थानमा पानी परेको छ । केही दिनदेखि धुम्मिएको झापाको आकाश वर्षातसँगै खुलेको छ । यद्यपि आज शुक्रबार पनि पानी पर्ने सम्भावना उत्तिकै रहेको देखिन्छ । बिर्तामोडमा हिजो बेलुका साडे ५ बजेदेखि भएको वर्षात् राति १० बजेसम्म परेको थियो । पानी पर्नाले वायु प्रदूषण केही घटेको छ भने किसानलाई पनि थोरै राहत भएको छ ।
गएको कात्तिक महिनादेखि तराईका जिल्लाहरुमा वर्षात भएको थिएन । चार महिना पछि भएको वर्षातले हिउँदै बालीसँगै र आँप, लिचि, सुपारी, नरिवल लगायत फलफूलका लागि सिंचाई पुगेको छ ।
हिजो काठमाडौं उपत्यकासहित मध्य र पूर्वी भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । पानी परेकाले आकाशमा जमेको धुलोका कणहरु केही हदसम्म पखालिएको छ । केही स्थानमा हावाहुरी चल्दा प्रदूषणको तहलाई उडाएर हावाको गुणस्तरमा केहीहदसम्म सुधार देखिएको मौषमविद अरुण पौडेलको भनाई छ ।
विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं उपत्यकाको वायुको गुणस्तर एक्यूआई ८६ पुगेको छ । जुन स्वास्थ्यका दृष्टिले मध्यम मानिन्छ ।
फागुन २६ गते एक्यूआई २०६ मापन भएको थियो । हिजो पनि १५० भन्दा माथि थियो । यसलाई वायुको गुणस्तर अति खराबस्तर मानिन्छ ।
विश्वस्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार वायु गुणस्तर सूचकांक अनुसार ५० सम्म हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।
यसैबीच, वर्षासँगै आएको हावाहुरीले हल्दीबारीमा आँपको रुख ढल्दा एक किशोरीको मृत्यु भएको छ।
बिहीबार बेलुका ९ बजेको समयमा हल्दीबारी गाउँपालिका–२ पाराखोपी निवासी प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशी आफ्नै घरमा सुतिरहेको अवस्थामा हावाहुरीले घर नजिकै रहेको आँपको रुख ढलेर घर किच्दा घटनास्थलमै आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
हावाहुरीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याउनुका साथै विद्युत् सेवा पनि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।


