
झापा । नेकपा (एमाले) जिल्ला कमिटी झापाले संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेकोमा सरकारले काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न शहरी क्षेत्रका सुकुम्बासी बस्तीहरुमा डोजर चलाएर भरपर्दो विकल्प बिना घर–टहरा भत्काउने अमानवीय कार्य गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वतन्त्रापुर्वक बाँच्न पाउने हकमाथि वर्तमान सरकारले गरिरहेको अमानवीय डोजर आतंकप्रति भत्सर्नासमेत गरिएको छ ।
नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको पक्ष राष्ट्रसमेत रहेको स्मरण गराउँदै ८ बुँदे विज्ञप्तिमा सुकुम्बासी बस्तीमा डोजर चलाउन सरकारले नेपाली सेना दुरुपयोग गरेको र सेनाको उपस्थितिका कारण नागरिकहरु आतंकित भएको हुँदा उक्त कार्य तत्काल रोक्न माग पनि गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, सर्वोच्च अदालतले समेत पटक–पटक ‘विकल्पबिना हटाउन नपाइने’ आदेश दिइसकेको अवस्थामा सरकार आफैं अदालतको अवहेलना गर्दै बल प्रयोगमा उत्रिएको छ । बालबालिका, महिला, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति रातारात बेघर भएका छन् । हालसम्म २ जनाले आत्महत्या गरेको समाचार सार्वजनिक भैसकेको छ ।
बर्षातको मुखमा घर भत्काउँदा सयौँ परिवारको ज्यान जोखिममा परेको छ । पढ्दै गरेका बालबालिकाको विद्यालय छुटेको छ, दैनिक ज्यालादारी गर्नेको रोजीरोटी खोसिएको छ । उनीहरुको स्वास्थ्यमा समस्या देखिन थालेको विज्ञप्तिमा उल्लेख छ ।
एमाले झापाले सुकुम्बासी बस्ती भत्काउने कार्य अविलम्ब रोकियोस् र क्षति भएका परिवारलाई तत्काल अस्थायी बास, खाद्यान्न र स्वास्थ्य उपचारको व्यवस्था गरियोस् भन्ने माग पनि गरेको छ ।


