२०८३ वैशाख १८ शुक्रवार , ११:५९:४१ बजे

Sajhamanch
'

पेट्रोल र डिजेलको भाउ घट्यो : खाना पकाउने ग्यासको बढ्यो

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं । पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ ।

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँले तथा डिजेल र मट्टितेलमा १२ रुपैयाँले भाउ घटेको छ । योसँगै काठमाडौं उपत्यका, दिपायल र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ ।

यसअघि काठमाण्डौ उपत्यका, दिपायल र पोखरामा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ थियो । त्यस्तै सुर्खेत र दाङमा यसअघि २१८ रहेको पेट्रोलको भाउ अब २१६ रुपैयाँ भएको छ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर २१४ रुपैयाँ भएको छ ।

खाना पकाउने ग्यासको भाउ १५० रुपैयाँले बढेको छ । जस अनुसार, अब खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २ हजार १६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० रुपैयाँ तोकिएको छ ।

यसअघि पूरा सिलिण्डरको २ हजार १० र आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ थियो । त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ ७ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाण्डौका लागि प्रतिकिलोलिटर ४६ डलरले बढेको निगमले जनाएको छ ।

सम्बन्धित खबर