
काठमाडौं । आँखाको उपचारका लागि छिमेकी भारतसहित बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा आउने गरेका छन् । आँखाको राम्रो उपचार हुने र सेवा पनि प्रभावकारी भएकाले विभिन्न देशबाट बिरामी नेपालमा आउने गरेका हुन् ।
सन् २०२४ को तथ्याङ्क अनुसार नेपाल नेत्रज्योति सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार ८४५ जनाको शल्यक्रिया गरिएको छ ।
नेत्रज्योति सङ्घका २८ आँखा अस्पताल र २२४ आँखा उपचार केन्द्रबाट उनीहरुले उपचार सेवा लिएका सङ्घका कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्रले बताए।
सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार ४२५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी अहिलेसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको जनाएको छ । तीमध्ये ५३ लाख ९२ हजार दुई सय २४ जनाको आँखाको शल्यक्रिया गरेको कार्यकारी निर्देशक मिश्रले बताए।