२०८३ वैशाख १९ शनिवार , ०८:२०:१३ बजे

Sajhamanch
'

बिर्तामोडमा पत्रकारिताको चुनौति र अबको बाटो विषयक अन्तरक्रिया

शनिवार, वैशाख १९, २०८३

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो समय मिडिया क्षेत्रमा चुनौति बढेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । मिडिया क्षेत्रले नै चुनौतिको सामना गर्नुपरेपछि सूचना प्रवाहमा पनि असर गर्ने उहाँको भनाई छ ।

नयाँ पेपरद्वारा आज बिर्तामोडमा आयोजित पत्रकारिताको चुनौति र अबको बाटो विषयक कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले मिडिया क्षेत्र कोभिडपछि निरन्तर समस्यामा रहेको बताउँदै बिर्तामोड नगरपालिकाले विगतदेखि लोककल्याणकारी सुविधा उपलब्ध गराइरहेको जानकारी दिनुभएको छ ।

मिडियाकर्मीलाई खोज पत्रकारिता गर्न सूझाव दिदैं उहाँले क्षमता विकासमा समेत ध्यान दिन आग्रह गर्नुभयो । नागरिकले चाहेजस्तै खोज पत्रकारिता भएमा धेरैजसो चुनौतिहरु समाधान भएर जाने उहाँले दावी गर्नुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारीले सरकार मिडियामैत्री नभएको धारणा व्यक्त गर्नुभयो ।

विगतमा मिडिया क्षेत्रले धेरै दुःख पार गरेर आएको भन्दै मिडिया क्षेत्र बचाउन सबैले प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, पहिले धेरै चुनौतिको सामना गरेर आएका छौं, अझै पनि चुनौतिको सामना गरेर अघि बढ्ने हिम्मत गरौं ।

कार्यक्रमका अर्का वक्ता नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकारहरुलाई सरकार र दलहरुले प्रयोग मात्रै गर्ने बताउनुभयो ।

पत्रकारहरुलाई प्रयोग गरेर निषेधसम्म गर्ने हर्कतका विरुद्द आवाज उठाउन जरुरी रहेको उहाँको धारणा थियो । अध्यक्ष गिरीले वर्तमान सरकारका कतिपय निर्णयहरुले मिडिया क्षेत्र मारमा परेको बताउँदै आफूहरु आन्दोलनमा रहेको पनि जानकारी दिनुभयो । हामी अहिले आन्दोलनमा छौं, गिरीले भन्नुभयो– जुनसुकै दल होस् वा सरकार, गलत कदमका विरुद्ध हामीले विरोध गर्नैपर्छ ।

उक्त कार्यक्रममा अधिकांश वक्ताहरुले पत्रकारिता क्षेत्रमा चुनौति थपिदैँ गएको धारणा व्यक्त गर्नुभएको थियो । सरकारले निजी मिडियालाई कमजोर बनाउने नीति लिएको अधिकांशको भनाई थियो । सरकारको उक्त कदमविरुद्द वक्ताहरुले धारणा व्यक्त गर्नुभएको थियो ।

पत्रकारिताको चुनौति र अबको बाटो विषयक कार्यक्रममा प्रेस काउन्सिलका पूर्व सदस्य गणेश पोखरेल, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृहको अध्यक्ष स्वस्तिका आचार्य, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा लगायतले धारणा राख्नुभएको थियो ।

प्राइड मिडिया प्रालिका अध्यक्ष निर्मलराज खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नयाँ पेपरको सहसम्पादक सुनिरा मैनालीले गर्नुभएको थियो भने सञ्चालन प्रधान सम्पादक रमेश तिवारीले गर्नुभएको थियो ।

सम्बन्धित खबर