२०८१ पौष २१, आइतवार , ०४:५२:३२ बजे

Sajhamanch
'

इटहरी उपमहानगरपालिकाको गेट अगाडि शंकास्पद वस्तु फेला

मङ्गलवार, पौष १६, २०८१

विराटनगर । सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको हो ।

उपमहानगरपालिका अगाडिको भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाउनका लागि नेपाली सेनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार उपमहानगरपालिकासँगै भोटेपुल र बुढी खोलामा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो । सूचनामा भनिए अनुसारको कालो झोला भने उपमहानगरपालिका अगाडि मात्रै भेटिएको छ ।

भोटेपुलमा शंकास्पद वस्तु नभेटिएको उनले बताए । बुढीखोला पुलमा शंकास्पद वस्तु भएनभएको खोजीका लागि तालिम प्राप्त कुकुरसहितको टोली खटिएको उनले बताए । बुढी खोला पुलमुनि एउटा बोरामा शंकास्पद वस्तु भएको आशंका छ । ‘सूचनामा भनिए अनुसारको वस्तु उपमहानगर अगाडि भेटिएको छ, बुढीखोलामा पनि खोजी भइरहेको छ,’ उनले भने, ‘प्रहरीले थप अनुसन्धान गर्दैछ ।’

आज बिहान करिब ४ः३० बजे इलाका प्रहरी कार्यालय इटहरीमा राजावादी समूहको नाममा तीन ठाउँमा बम राखेको भन्दै म्यासेज आएको थियो ।

प्रहरीलाई आएको सूचनामा आजदेखि सशस्त्र संघर्ष सुरु भएको भनिएको छ । प्रहरीले शंकास्पद वस्तु राख्ने र प्रहरीलाई सूचना दिने व्यक्तिको खोजी गरिरहेको उनले बताए ।

सम्बन्धित खबर