२०८३ जेठ १८ सोमवार , १२:१४:०१ बजे

Sajhamanch
'

अर्थमन्त्री वाग्लेले भन्नुभयो– बिजुलीमा उपभोक्तालाई मार पर्दैन, ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्दैछ

सोमवार, जेठ १८, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट बिजुलीका उपभोक्तालाई भार नपर्ने जिकीर गर्नु भएको छ । साथै उहाँले ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्ने पनि जानकारी दिनु भएको छ ।

पोष्ट बजेट सम्बन्धी छलफलमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले बिजुलीमा उपभोक्तालाई अन्तिम भार नपर्ने गरी व्यवस्था गर्न सरकारले सोचिरहेको बताउनु भयो । तर बिजुलीको भ्याटबाट भने पछि नहट्ने उहाँले बताउनु भयो। ‘भ्याट लाग्छ–लाग्छ रिट्रिट हुँदैन तर उपभोक्तालाई मार नपर्ने गरी हामी सोच्दैछौं,’ उहाँले भन्नुभयो ।

त्यसका लागि महसुल छुट दिने विषयमा विद्युत महसुल आयोगलाई पनि अनुरोध गर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘…अन्तिम उपभोक्तालाई मार नपर्ने गरेर कि हामी युनिट बढाइदिन्छौं वा त्यो मूल्यलाई नै समायोजन गरेर..।’

उत्तरदायी सरकारले यसैगरी सोच्ने भन्दै उहाँले अतिरञ्जना नगर्न आग्रह गर्नुभयो । कसैले गर्न नसकेको आँट वर्तमान सरकारले गरेको बताउँदै उहाँले भन्नुभयो, ‘यो देशको दीर्घकालीन हितमा छ ।’

अर्थमन्त्री वाग्लेले ५० लाखभन्दा मुनिको विद्युतीय गाडी (ईभी)को मूल्य घट्ने पनि बताउनु भयो ।

सम्बन्धित खबर