२०८३ जेठ १८ सोमवार , ११:२७:२१ बजे

Sajhamanch
'

काफ्ले समाज पाँचथरको नेतृत्व पुनः चन्द्रको जिम्मामा

सोमवार, जेठ १८, २०८३

फिदिम । काफ्ले समाज पाँचथरको तेस्रो जिल्ला अधिवेशन शनिबार फिदिममा सम्पन्न भएको छ ।

काफ्ले समाजका केन्द्रीय महिला उपाध्यक्ष दुर्गादेवी खनाल काफ्लेको प्रमुख आतिथ्यमा आयोजित तेस्रो अधिवेशनले फिदिम नगरपालिकामा बसोबास रहेका चन्द्रप्रकाश काफ्लेलाई पुनः अध्यक्षमा जिम्मेवारी दिँदै १५ सदस्यीय जिल्ला नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

केन्द्रीय सचिव गोपाल काफ्ले नेतृत्वको निर्वाचन समितिले जिल्ला कार्यसमितिको उपाध्यक्षद्वयमा टेकनाथ काफ्ले (नाङ्गिन) र लीलामाया काफ्ले (याङबराक), सचिवमा वीरेन्द्र काफ्ले (हिलिहाङ), सहसचिवमा बिनोद काफ्ले (नाङ्गिन) र कोषाध्यक्षमा निर्मला काफ्ले (फिदिम)लाई सर्वसम्मत चयन गरिएको हो ।

यसैगरी कार्यसमितिका सदस्यहरुमा श्रीराम काफ्ले (नाङ्गिन), छबिलाल काफ्ले (एक्तीन), सुदर्शन काफ्ले (फिदिम), कुसुम काफ्ले (फालेलुङ), नैनकला काफ्ले (फिदिम), लोकेन्द्र काफ्ले (याङबराक), रिता काफ्ले (फिदिम), भविन्द्र काफ्ले (नाङ्गिन) र सुरेन्द्र काफ्ले (याङबराक) सर्वसम्मत चुनिनु भएको छ ।

काफ्ले समाज पाँचथरका अध्यक्ष चन्द्रप्रकाश काफ्लेको अध्यक्षतामा आयोजित जिल्ला अधिवेशनमा उहाँले समाजको सांगठानिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै बन्धुहरुलाई सामाजिक भावनाको साथ एकताको सुत्रमा बाँध्न रचनात्मक प्रयास भइरहेको जानकारी दिनुभयो ।

पाँचथर जिल्लामा काफ्ले बन्धुहरुको ७० घरधुरी रहेको अवगत गराउनु हँदै उहाँले २०५८ सालबाट नै बन्धुहरुबीच एकतृत भई विभिन्न सामाजिक काम गरिँदै आएको अवगत गराउनु भयो ।

उक्त अधिवेशनका प्रमुख अतिथि केन्द्रीय महिला उपाध्यक्ष दुर्गादेवी काफ्लेले एसईई उत्तीर्ण गर्दा उत्कृष्ट अंक हासिल गर्ने नानीबाबुहरुलाई पुरस्कृत गर्ने कुराले बन्धुहरुको मन छुने बताउनु भयो ।

‘हामीले जति सक्छौं उत्ति धेरै सामाजिक काम गर्नुपर्छ र मात्र बन्धुहरु बीच सम्बन्ध प्रगाढ रहन्छ’ केन्द्रीय उपाध्यक्ष दुर्गादेवीको भनाई थियो ।

उक्त कार्यक्रममा काफ्ले समाजका केन्द्रीय सचिव गोपाल काफ्लेले तनहुँको देवघाटमा बनाइँदै गरेको शाण्डिल्य सेवा आश्रम निर्माणका लागि काफ्लेका हरेक परिवारबाट सानोमात्रै भएपनि आर्थिक सहयोग गरिएमा उक्त पवित्रस्थलमा आफ्नै भवन हुने र भ्रमणमा जाँदा अन्यत्र बास बस्नु नपर्ने सुझाउँदै आर्थिक सहयोग गर्न आह््वान गर्नुभयो ।

झापाबाट सुरु गरिएको काफ्ले जनगणना तथा घरधुरी सर्वेक्षणका लागि फारम उपलब्ध गराउनु हुँदै उहाँले काफ्ले वंशावलीको दोस्रो संस्करण र डिजिटल वंशावलीका लागि फारम उपयोगी हुने भएकाले यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रमका अर्का विशिष्ट अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले व्यक्तिले रोजेको राजनीतिक आस्थाले बन्धुहरुको एकतामा कतै प्रभाव नपारोस्, खलल नपुर्याओस् भन्नुहँदै दुःखमा पनि र सुखमा पनि बन्धुहरुबीच भातृत्व कायम रहोस् भन्ने चाहना ब्यक्त गर्नुभयो ।

जिल्ला कार्यसमितिका सदस्य वीरेन्द्र काफ्लेले सञ्चालन गर्नुभएको उक्त जिल्ला अधिवेशनमा काफ्ले समाज कोशी प्रदेश कार्यसमितिका अध्यक्ष चिन्तामणि काफ्ले, झापा जिल्ला अध्यक्ष नारायणप्रसाद काफ्ले, झापाको दमक नगर कार्यसमितिका अध्यक्ष ओमप्रकाश काफ्ले लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

सम्बन्धित खबर