
झापा । झापाको दमक नगरपालिका-१० स्थित सेतुमाडीमा शनिबार बिहान बोरामा पोको पारिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।
शव दमक नगरपालिका-८ बसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारीको रहेको खुलेको हो । उनको शव रतुवा खोलाको किनारमा फेला परेको थियो ।
प्रहरीका अनुसार रमा बुधबार राति घरबाट हराएकी थिइन् । शनिबार बिहान करिब ११ बजे रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार अन्यत्र कतै हत्या गरी शव पुलमाथिबाट खोलामा फालिएको जस्तो देखिन्छ ।
झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।
प्रहरीका अनुसार मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव हेरेर आफ्नै छोरी भएको पहिचान गरेका थिए ।
आफन्तले प्रहरीलाई रमा गत जेठ १३ गते राति करिब ९ः३० बजे घरबाटै हराएको बताएका थिए । घर नफर्किएकी उनको खोजी भइरहेकै अवस्थामा शनिबार विभत्स अवस्थामा शव फेला परेको हो । घटनाको सम्बन्धमा विभिन्न कोणबाट गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


