२०८३ जेठ ५ मङ्गलवार , ०५:१७:१९ बजे

Sajhamanch
'

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन

मङ्गलवार, जेठ ५, २०८३

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । मंगलबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले उहाँको नाम अनुमोदन गरेको हो । समितिले मंगलबार नै सुनुवाइ गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

अब अनुमोदनपछि संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी पठाउँछ । त्यसपछि उनको औपचारिक नियुक्ति हुनेछ । संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।

संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतकाले विरोध पनि गरिरहेका छन् ।

सर्वोच्च अदालतमा बरिष्ठतम् न्यायाधीश सपन प्रधान मल्ल हुनुहुन्छ । वरीयताक्रममा उहाँ नै प्रधानन्यायाधीश हुने आकांक्षी हुनुहुनथ्यो ।

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई अनुमोदन गर्नका लागि सहजता हुने वातावरण तयार गरेका थिए । ६ सदस्यीय संवैधानिक परिषद्‌मा ३ जनाले नै पनि निर्णय गर्न सक्ने प्रवाधान अध्यादेशमा राखिएको थियो । त्यही अध्यादेश आएपछि संवैधानिक परिषद्ले बैठक गरी शर्माको नाम सिफारिस गरेको थियो ।

शर्माको नाम सिफारिसप्रति प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति राख्नु भएको थियो । संवैधानिक परिषद्का २ सदस्यको असहमतिकाबीच शर्माको नाम संवैधानिक परिषद्‌बाट निर्णय भएको थियो ।

सम्बन्धित खबर