
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेको छ । काठमाडौंको अनामनगरमा पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सम्पर्क कार्यालय खोलेको हो ।
नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायतको सक्रियतामा सम्पर्क कार्यालय खुलेको बताइएको छ ।
बराल, बस्नेत र काफ्ले निवर्तमान केन्द्रीय सदस्य हुन् । त्यस्तै शेरचन बागलुङका सभापति तथा गण्डकी प्रदेश सरकारको अर्थमन्त्री हुन् । कार्की कोशी प्रदेश सरकारको पूर्वमुख्यमन्त्री हुन् ।
उक्त समूहका नेता तथा नेपाल लोकतन्त्रवादी आदीवासी जनजाति महासंघका महामन्त्री मनहरि श्रेष्ठले पार्टीको १५औं महाधिवेशनलाई एकता महाधिवेशन बनाउने तयारीका लागि सम्पर्क कार्यालय स्थापना भएको बताउँछन् ।
उनले भने, ‘यो नयाँ पार्टी बनाउनका लागि सम्पर्क कार्यालय खोलेका होइनौं । १५ औँलाई महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन पर्छ । हामीले महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय खोलेका हौँ ।’
उनले वैशाखदेखि नै सम्पर्क कार्यालय स्थापना गरी कामकारबाही अघि बढाइएको बताए ।
नेता गुरु बराल पार्टी एकताको लागि दबाब सिर्जना गर्न र महाधिवेशनको तयारी गर्न कार्यालय स्थापना गरिएको बताउँछन् ।
‘पार्टी एकताका लागि दबाब सिर्जना गर्न र १५ औँ महाधिवेशनको तयारी गर्न सम्पर्क कार्यालय खोलेका हौं,’ उनले भने ।
अनामनगरस्थित सम्पर्क कार्यालयमा अनलाइनखबरकर्मी पुग्दा निवर्तमान केन्द्रीय सदस्य विद्या तिमल्सिना, नेपाल महिला संघकी निवर्तमान अध्यक्ष उषा राउत मिश्र, मनहरि श्रेष्ठ, नेविसंघ नेता मनिषजंग थापा, दुर्गाबहादुर खड्कालगायत भेटिए ।
सम्पर्क कार्यालया चारतारे झण्डासँगै बीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्काको तस्वीर लहरै झुण्ड्याइएको छ ।


