२०८३ जेठ ५ मङ्गलवार , ०४:५८:०७ बजे

Sajhamanch
'

१ हजार १८१ जनाले हिमाल आरोहणको अनुमति लिए

मङ्गलवार, जेठ ५, २०८३

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका १ हजार १८१ आरोहीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो । अहिलेसम्म सगरमाथा आरोहणका लागि ५५ देशका ४९४ जना आरोहीले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै १०९ चिनियाँ नागरिकले अनुमति लिएका छन् । यस्तै अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रुसका १८, अस्ट्रेलियाका १५, जापानका १४, नेपालका १२, ब्राजिलका १० जनाले अनुमति लिएका सूचना अधिकारी गौतमले बताउनुभयो ।

ल्होत्सेका लागि १४३, आमादब्लमका लागि १११, नुप्त्सेका लागि ५६, हिम्लुङका लागि ४६, कञ्चनजङ्घाका लागि ३६, धवलागिरिका लागि ३० जनाले अनुमति लिएका छन् । यस्तै अन्य हिमाल आरोहणका लागि पनि अनुमति जारी भएका छन् ।

पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ । ५ हजार ८०० देखि ६ हजार ५०० मिटरसम्मका हिमाल आरोहणको अनुमति भने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले दिने गरेको छ ।

विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत १ अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विभागले सबैभन्दा धेरै सगरमाथाबाट १ अर्ब ७ करोड ८६ लाख ९१ हजार ४७५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

ल्होत्सेबाट ६ करोड ३६ लाख २७ हजार ७००, आमादब्लमबाट १ करोड ६६ लाख ९ हजार २००, कञ्चनजङ्घाबाट १ करोड ६० लाख ८१ हजार ६५०, धवलागिरि प्रथमबाट १ करोड ३४ लाख ५४ हजार ५५०, अन्नपूर्ण प्रथमबाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सम्बन्धित खबर