२०८३ वैशाख २१ सोमवार , ०१:३६:५० बजे

Sajhamanch
'

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायीमा पलायो आशा

सोमवार, वैशाख २१, २०८३

झापा । लामो समयदेखि सुनसान जस्तै रहेको देशकै पुरानो सहर भद्रपुरको बजारमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ।

नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै उपभोक्ताहरू स्वदेशी बजारतर्फ आकर्षित हुन थालेका हुन्।

विशेष गरी भारतबाट ल्याइने रु. १०० भन्दा बढी मूल्यका सामानमा भन्सार अनिवार्य गरेपछि स्थानीय बजार चलायमान हुन थालेको हो।

भन्सारको यो नीतिले नेपाली व्यवसायीहरूमा नयाँ उत्साह थपेको छ। भद्रपुरका कपडा व्यवसायी रवि गुप्ताका अनुसार विगतका दिनको तुलनामा व्यापार ३० देखि ४० प्रतिशतले वृद्धि भएको छ।

यस्तै, अन्य व्यवसायीहरू पनि यो कदमले व्यापारिक सम्भावना बढाएकोमा खुसी व्यक्त गर्छन्। यदि यो कडाइलाई निरन्तरता दिन सके भद्रपुरको ऐतिहासिक व्यापारिक रौनक पुनः फर्कने विश्वास स्थानीयको छ।

नेपाली ग्राहकहरूको सङ्ख्या घटेपछि भारतीय बजार गलगलियामा भने व्यापारिक मन्दी छाएको छ। त्यहाँका किराना र फुटवेयर व्यवसायीहरूले व्यापारमा ३० देखि ७० प्रतिशतसम्म गिरावट आएको बताएका छन्।

अधिकांश नेपाली ग्राहकहरू घरायसी सामग्रीका लागि भारतीय बजारमा निर्भर रहने गरेकोमा अहिले भन्सारको डरले आफ्नै बजारमा सामान किन्न थालेका छन्।

भद्रपुर भन्सार कार्यालयका अनुसार मानिसहरूको आवागमनमा कमी आउँदा राजस्व सङ्कलनमा केही प्रभाव परेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख १९ गतेसम्म भन्सारले रु. १३ करोड ४३ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ।

यता सशस्त्र प्रहरीले पनि सीमामा निगरानी बढाएको छ। घरायसी र व्यापारिक सामान छुट्याएर, आवश्यक प्रक्रिया पूरा गरेर मात्र सामान भित्रिन दिने गरिएको सुरक्षा निकायले जनाएको छ।

नेपाल सरकारको भन्सार नीतिले सीमावर्ती नेपाली बजारलाई पुनर्जीवन दिने सङ्केत देखाएको छ। यद्यपि, खुल्ला सीमाका कारण चोरी(पैठारी नियन्त्रण अझै चुनौतीपूर्ण छ।

सम्बन्धित खबर