
गोपाल काफ्ले
झापा । झापा जिल्ला सहकारी सङ्घ लिमिटेडको आठौं कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न हिजो शनिबार मनोनयन पत्र दर्ता गर्ने ५ जना उम्मेदवार विरुद्ध दाबी विरोध परेको छ।
सोही कारण चैत २८ गते मतदान गर्ने गरी निर्धारण गरिएको कार्यतालिका चौथोपटक फेरि फेरबदल हुने सूचना पनि जारी गरिएको छ।
समाचार स्रोतका अनुसार अध्यक्ष पदमा एकमात्र उम्मेदवारी परेका प्रेमकुमार कोइरालाका विरुद्ध प्रदेश सहकारी सङ्घको सञ्चालक भएको भन्दै दाबी विरोध परेको छ।
यस्तै महिला उपाध्यक्ष पदका उम्मेदवार देवी निरौला बस्नेत जिल्ला बचत तथा ऋण सहकारी सङ्घमा रहेको, सचिव पदका उम्मेदवार भवानीप्रसाद दंगाल प्रदेश सहकारी सङ्घको सचिव रहेको निवेदनमा दाबी गरिएको छ।
यसैगरी लेखा समितिको सदस्य पदमा उम्मेदवारी दिने राजेन्द्रप्रसाद रिजाल जिल्ला बचत तथा ऋण सहकारी सङ्घको लेखा सुपरिवेक्षण समितिको संयोजक रहेको र सहसचिवका उम्मेदवार विनोद ढकाल आफ्नो प्रारम्भिक संस्थाको व्यवस्थापक र जिल्ला बचत सङ्घको जिम्मेवारीमा रहेको दाबी गरिएको छ।
संशोधित सहकारी ऐनमा एउटै व्यक्ति दुईवटा सङ्घमा बस्न नपाउने तथा कर्मचारीले संघमा जिम्मेवारी लिन नपाउने प्रावधान रहेको बताइएको छ।
आज आइतबार दिउँसो ३ बजेसम्मका लागि दाबी विरोधको समय निर्धारण गरिएको थियो। सो अनुसार उक्त पाँचजना विरुद्ध दाबी विरोध परेको हो ।
पाँचजना विरुद्ध त्यो पनि अत्यन्त प्राविधिक विषयवस्तु उल्लेख गरेर दाबी विरोध गरे पछि जिल्ला सङ्घको सञ्चालक समितिको आग्रहमा उक्त विषय निरुपण गर्ने गरी निर्वाचन कार्यक्रमलाई २०८२ वैशाख ९ गतेपछि मात्र सञ्चालन गर्न आग्रह गरिएको निर्वाचन समितिले आज प्रकाशन गरेको सूचनामा जनाइएको छ।
३१३ जना मतदाता रहेको झापा जिल्ला सहकारी सङ्घको जारी निर्वाचन कार्यक्रमलाई फेरि पनि धकेल्ने कार्यले सहकारी अभियानमा राजनीतिक चलखेल भइरहेको जानकारहरू बताउँछन् । सरकारमा साझेदार रहेका दलहरूको समझदारीमा नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार हरू भागबण्डा गरेका थिए । तर माओवादी केन्द्र र एकीकृत समाजवादीलाई अटाएर सर्वसम्मत नेतृत्व चयन गर्ने फितलो प्रयासका कारण उम्मेदवारहरू विरुद्ध यस्तो विरोधको सूची दर्ता भएको समाचार स्रोतले बताएको छ ।
पटकपटक दलहरूको निकटमा रहेर छलफल गरेका अभियानकर्मीका अनुसार निर्वाचनको मिति सारीरहनु को कारण मूलत: दलीय हस्तक्षेप नै भएको पाइएको छ। सहकारी अभियानमा राजनीति प्रवेश गरिनु हुँदैन भन्ने मान्यतालाई एकातिर पन्छाएर दलहरुले जिल्ला संघलाई आफ्नो भात्री संस्था बनाउन खोज्दा यो संकट नजिकिँदै गरेको बताइन्छ ।
नेपाली कांग्रेससँगको समझदारीमा उम्मेदवारहरू मनोनयन गरिएकोमा दलीय लिस्टमा नपरेका केही अभियानकर्मीहरूले उम्मेदवारी दर्ता गरेपछि हिजो अपरान्ह नेकपा एमालेका सहकारी विभाग प्रमुख हरिदास ढुंगाना अगाडिको टेबल माथि ठटारेर धम्की दिने प्रयास पनि भएको थियो। कांग्रेस निकट सहकारीकर्मीले आफ्नो भागमा परेको पदहरूमा अन्य उम्मेदवार किन ल्याइएको भन्दै ढुंगानालाई धम्की दिने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।