
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार मियाँखोरबाट सुकनाहातर्फ जाँदै गरेको बीआर ३० ई ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई सोमबार राति करिब ८ः१५ बजे ठक्कर दिएको हो ।
दुर्घटनामा साइकल चालक ईश्वरपुर–२ राईटरखोरका किसुन देव साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
त्यसैगरी, मोटरसाइकलको पछाडि सवार १४ वर्षीय बिक्की कुमार राउत सामान्य घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक सोही स्थानका मनिष साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।


