
काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग लामो राजनीतिक सम्वाद गर्नु भएको छ ।
हिजो दिउँसो १ बजे गुन्डु पुगेकी भण्डारीले दुई घण्टा बढी सम्वाद गर्नु भएको छ । स्रोतका अनुसार स्वास्थ्य अवस्था बुझ्न भनेर गुन्डु पुगेकी भण्डारीले ओलीसँग एमालेको आन्तरिक राजनीतिबारे सुझाव समेत दिनु भएको छ ।
‘पदाधिकारीदेखि तल कार्यकर्तासम्मले निर्वाचनको समीक्षा बैठक राख्न माग राखिरहेको सुनिन्छ । तर अहिलेसम्म बैठक बोलाइएको छैन,’ भण्डारी निकट स्रोतले भन्यो, ‘केपी ओलीसँग यही विषयमा कुरा गर्नुभयो ।’
एमालेका पूर्व उपाध्यक्ष समेत भइसकेकी भण्डारीले समीक्षा बैठक राख्न ढिलाइ नगर्न ओलीलाई सुझाव दिनु भएको छ । ‘कार्यकर्तामा निराशा बढ्दै गएको छ । यस्तो अलमलमा धेरै बसिरहनु हुँदैन,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नु भएको थियो ।
एमालेभित्र ओलीले नेतृत्व छोड्नुपर्छ भन्ने आवाज उठिरहेको सन्दर्भ समेत भण्डारीले सम्झाउनु भएको थियो । ‘ओलीले छोडिहाल्नुपर्छ भन्ने पनि सुन्छु । त्यो आफ्नो ठाउँमा छ, तर तपाईंले बैठक चाहिँ बोलाइदिनुस्,’ पूर्वराष्ट्रपतिले सुझाव दिनु भएको छ ।
ओलीले भन्नुभयो सन्दर्भ नमिलिरहेकाले बैठक बस्न ढिलाइ भइरहेको जवाफ दिनु भएको थियो । ओलीले अरु नेताहरुसँग पनि यस्तै तर्क गर्दै आउनु भएको छ ।
प्रतिनिधि सभा निर्वाचनमा एमालेले नराम्रो पराजय बेहोरेपछि ओलीमाथि नेतृत्व छोड्न दबाब बढिरहेको छ । पूर्वराष्ट्रपति भण्डारीले पनि लगातार ओलीलाई भेटेरै आन्तरिक राजनीतिको प्रसंग उठाइरहेकी छन् ।
२१ फागुनको निर्वाचन यता भण्डारीले ओलीलाई भेटेको यो चौथोपटक हो ।


