२०८१ माघ २, बुधवार , ०९:२१:०० बजे

Sajhamanch
'

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

बुधवार, माघ २, २०८१

काठमाडौं पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार ११६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट १४५ जना घाइते भएका जानकारी दिए ।

उनका अनुसार आगालागीबाट१९० घर, १३० गोठ, एउटा सरकारी कार्यालय र ४५५ पशुचौपायको क्षति भएको छ । आगालागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । आगालगीबाट करिब .रु ५० करोड बराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिए ।

सबैभन्दा बढी कोशी प्रदेशमा ३३१ स्थानमा आगलागी भएका छन् । प्रहरीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा २६९, बागमतीमा ७०, काठमाडौँ उपत्यकामा १४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा ११४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना भएका छन् ।

दैनिक रूपमा आगलागीका घटना भइरहेका भन्दै हिजो मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती आगलागीबाट दुई जना घाइते भएका प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए ।

दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । विद्युत् सर्ट, ग्यास चुहिएर र जाडोमा आगो ताप्दा असावधानीलगायत कारणले आगलागीका घटना बढिरहेका प्रवक्ता भट्टराईले बताए ।

सम्बन्धित खबर