२०८१ असोज ४, शुक्रवार , ०४:२३:३७ बजे

Sajhamanch
'

विराटनगर महानगरद्वारा स्वरोजगारमूलक विभिन्न तालिम सञ्चालन गर्दै

शुक्रवार, असोज ४, २०८१

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीलाई बेरोजगार युवालाई स्वरोजगारमूलक बनाउन विभिन्न योजना अघि सारेको छ ।

महानगरले सीपमूलक तालिम सञ्चालन गरेर स्वरोजगार बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा ई–रिक्सा मर्मत र गार्मेन्ट फेब्रिकेटर तालिमका लागि महानगरले हालै सूचना जारी गरेको छ ।

महानगर र स्वीस कन्ट्रयाक्ट स्टेप अफ परियोजनाको आर्थिक सहयोग र आसमान नेपालको समन्वयमा बेरोजगार युवाहरुलाई सीप तथा क्षमता विकासको तालिम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।

ई–रिक्सा मर्मत तालिमका लागि ४० र गार्मेन्ट फेब्रिकेटर तालिमका लागि ४० जनाको कोटा तोकिएको छ । तालिमका लागि विराटनगर महानगरमा स्थायी बसोबास गरेको व्यक्तिलाई पहिलो प्राथमिकता राखिने मेयर नागेश कोइरालाले बताए।

‘हातमा सीप भएमा जहाँसुकै पनि काम पाउन सकिन्छ,’ मेयर कोइरालाले भने, ‘सीप भएमा जागिर खानैपर्छ भन्ने छैन । आफै स्वरोजगार पनि हुन सकिन्छ । महानगरको उद्देश्य पनि युवाहरुलाई स्वरोजगार बनाउने रहेको छ ।’

मेयर कोइरालाले जागिर खानका लागि डिग्रीको सर्टिफिकेट र हातमा सीप हुनुपर्नेमा जोड दिए। युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न योजना अघि सारेको उनको भनाइ थियो ।

ई–रिक्सा तालिमका लागि कम्तीमा ८ कक्षा पास गरेको र गार्मेन्ट फेब्रिकेटरका लागि सामान्य सिलाई कटाईको अनुभव भएको हुनुपर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराुजलीले जानकारी दिए।

पराजुलीले आवश्यक कागजातका साथ आवेदन फारम भर्न आग्रहसमेत गरे। महानगरले यसअघि पञ्चेबाजा, सिलाईबुनाई, अगरबत्तीलगायत विभिन्न तालिम सञ्चालन गरेको थियो ।

सम्बन्धित खबर