२०८३ जेठ २० बुधवार , ०४:२०:२० बजे

Sajhamanch
'

भ्रष्टाचार मुद्दामा प्रदेशसभा सदस्य सरोज सिंह दोषी ठहर, ४ वर्ष जेल सजाय

बुधवार, जेठ २०, २०८३

काठमाडौं । भ्रष्टाचार मुद्दामा मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई ४ वर्ष १ महिना कैद सजाय तथा ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम सिंहबाट १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ। साथै घुसस्वरूप लिएको ३८ लाख ५० हजार १३९ रुपैयाँ सरकारी कोषमा जफत गर्न पनि निर्देशन दिएको छ।

महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित सिंहले विभिन्न उपभोक्ता समितिबाट घुस तथा कमिसनका रूपमा उक्त रकम लिएको पुष्टि भएको अदालतले जनाएको छ। प्रतिवादीले रकम लिएको विषयमा विवाद नगरेकाले सोही रकमलाई भ्रष्टाचारको बिगो कायम गरिएको अदालतको ठहर छ।

अभियोगअनुसार उपभोक्ता समितिको खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थ मार्फत झिकाई सिंहले आफ्नो र श्रीमतीको संयुक्त बैंक खातामा जम्मा गरी हिनामिना गरेका थिए।

विशेष अदालतले भ्रष्टाचार कसुर प्रमाणित भएको निष्कर्षसहित कैद, जरिवाना, क्षतिपूर्ति तथा रकम जफतको आदेश दिएको हो।

सम्बन्धित खबर