
काठमाडौं । मनसुन सुरु हुन तीन हप्ता मात्रै बाँकी रहँदा मौसमजन्य स्वास्थ्य समस्या हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सबै स्थानीय तहमा तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीसहितको द्रुत प्रतिकार्य टोली (र्यापिड रेस्पोन्स टिम) तयारी अवस्थामा राखेको जनाएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याको सामना गर्न विशेष कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बढ्दो तापक्रम, आर्द्रता र निरन्तर वर्षाका कारण विभिन्न प्रकारका सङ्क्रामक रोग फैलिने सम्भावना उच्च रहने भएकाले त्यसको प्रतिकार्यका लागि सरकार तयारी अवस्थामा रहेको छ ।
मनसुनका बेला खानेपानीका स्रोत दूषित हुन सक्ने, बाढी तथा डुबानका कारण फोहोर पानी खानेपानीका मुहानमा मिसिन सक्ने तथा सरसफाइ व्यवस्थापन प्रभावित हुन सक्ने भएकाले स्वास्थ्य चुनौती थप जटिल बन्न सक्ने उहाँले बताउनुभयो ।
यी जोखिमलाई मध्यनजर गर्दै सरोकारवाला निकायसँग सहकार्य गरी राष्ट्रियस्तरमा मनसुन पूर्वतयारी कार्ययोजना लागु गरी सकिएको उहाँको भनाइ छ । मन्त्रालयले मनसुनजन्य स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै आवश्यक औषधी, स्वास्थ्य सामग्री तथा अन्य आपत्कालीन उपकरणको व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ ।
सरकारले मनसुनका बेला रोग नियन्त्रण र रोकथामका लागि जनचेतना अभिवृद्धि अभियानलाई पनि प्राथमिकता दिएको छ । व्यक्तिगत सरसफाइ, परिवार तथा समुदायको स्वच्छता, खाद्यान्नको सुरक्षित भण्डारण, स्वच्छ खानेपानीको प्रयोग तथा वातावरणीय सरसफाइका विषयमा नागरिकलाई सचेत गराउन स्थानीय तहसँग समन्वय गरी कार्यक्रम सञ्चालन भइरहेको डा. अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मनसुन सक्रिय हुने अवस्थामा छ । वर्षासँगै तापक्रम र आर्द्रता बढ्दा खाद्यवस्तु बिग्रने, खाद्य विषाक्तता हुने, पानीजन्य तथा किटजन्य रोग फैलिने जोखिम बढ्छ । त्यसैले स्वास्थ्य मन्त्रालयले विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूसँग समन्वय गरी राष्ट्रियस्तरमा मनसुन पूर्वतयारी कार्ययोजना लागु गरेको छ ।”
उहाँका अनुसार विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि आवश्यक सामग्री व्यवस्थापन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सम्बन्धित निकायबिच समन्वयका कार्यहरू अघि बढाइएको छ । साथै, प्रत्येक स्थानीय तहमा आवश्यक प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गरी द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।
मनसुनका कारण हुन सक्ने विपद्पछि आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न अस्पतालसँग पनि समन्वय र सहकार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
डा। अधिकारीले नागरिकलाई उमालेर वा शुद्धीकरण गरिएको पानी मात्र पिउन, बासी तथा असुरक्षित खाना नखान, फलफूल तथा तरकारी राम्ररी सफा गरेर मात्र सेवन गर्न तथा कुनै पनि स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।


