२०८३ जेठ २० बुधवार , ०३:२०:०८ बजे

Sajhamanch
'

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

बुधवार, जेठ २०, २०८३

धनुषा । दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ ।

मधेसका अधिकांश स्थानमा एक सातादेखि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढेकाले यहाँको जनजीवनमा नकारात्मक प्रभाव बढ्न गइ ‘लु’ को महामारी फैलिनसक्ने जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले सचेत गराएको छ ।

‘लु’ का कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुनेलगायत जोखिम निम्तन सक्छ ।

प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा. दिग्विजय ठाकुरले ‘लु’ बाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिँडडुल नगर्न, हलुका लुगा लगाउन, घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिनु भएको छ ।

मधेसमा अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुरहरुको जनजीवनसमेत कष्टकर बनेको छ ।

सहरी क्षेत्रमा भने मानिसको चहलपहल निकै कम देखिन्छ । दिउँसोका समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणले बताएका छन् ।

जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरका प्रमुख राजीव झाले यस वर्ष समयमा नै मनसुनी वर्षा हुने सम्भावना कम देखिएको बताउनु भयो ।

झाले जेठ १८ देखि असोज १३ सम्मको अवधिलाई मनसुनी समय स्वीकारेको भए पनि अहिले जेठ महिना सकिन लाग्दासमेत उखरमाउलो गर्मी छ भने ।

गर्मीको समयमा पानीको कमीका कारण एलर्जीको समस्या धेरैमा हुने गर्छ । शरीरमा पानी कमी भयो भने शरीरबाट विषाक्त पदार्थ बाहिर आउन सक्दैन ।

डा. ठाकुरले गर्मीबाट जोगिन तिर्खा नलागे पनि दिनको आठ गिलास पानी पिउन सुझाव दिनु भएको छ । ठाकुरले पानीका कमीले शरीरमा डिहाइड्रेशनको समस्या आउनसक्ने बताउँदै पानीको पिउनुको सट्टा बियर, कफी, सोडाजस्ता पेयपदार्थ झनै हानिकारक हुने बताउनु भयो ।

सम्बन्धित खबर