
झापा । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन् ।
आक्रमणपछि उडानहरू रोकिएका र विमानहरूलाई अन्य विमानस्थलहरूमा डाइभर्ट गरिएको समाचार संस्था एपीले जनाएको छ । आक्रमणमा घाइते भएकाहरूको सङ्ख्या भने सार्वजनिक भएको छैन ।
आक्रमणबाट विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ । इरानसँगको युद्धका कारण अस्थायी रूपमा बन्द रहेको यो विमानस्थल अस्ति सोमवारदेखि मात्र पुनः सञ्चालनमा आएको थियो ।
इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एकअर्काविरुद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेका बेला यो आक्रमण भएको हो ।
गएराति अमेरिकी सेनाले कुवेत र बहराइनमा इरानी क्षेप्यास्त्र आक्रमणको जवाफस्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो । त्यसैगरी इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले बहराइन र अन्य क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति भएका ठाउँलाई लक्षित गरेको दाबी गरेको छ, यद्यपि कुवेतको नाम प्रत्यक्ष रूपमा उल्लेख गरेको छैन ।
यसैबीच अमेरिकी सेन्ट्रल कमान्डले हर्मुज जलमार्ग नजिकै इरानी सैन्य सञ्चार तथा नियन्त्रण केन्द्रमा जवाफी कारबाही गरिएको जनाएको छ । दुवै पक्षले एकअर्काविरुघद्ध आक्रमण गरिरहँदा क्षेत्रीय तनाव थप चुलिएको देखिएको छ ।
इरानी समाचार एजेन्सीहरूले मध्यस्थकर्ताहरूसँग चलिरहेको वार्ता रोकिएको दाबी गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो दाबीलाई अस्वीकार गर्दै वार्ता चलिरहेको बताउनुभएको छ ।
क्षेत्रीय मध्यस्थतामा संलग्न एक अधिकारीका अनुसार इरानले भर्खरै लेबनानमा युद्धविराम कार्यान्वयन नभएसम्म वार्ता अघि नबढाउने स्पष्ट सङ्केत दिएको थियो । तर परिस्थितिबारे आधिकारिक रूपमा कुनै स्थगन घोषणा नभएको बताइएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कंग्रेसमा दिनएको बयानमा वार्ताको आणविक पक्षबारे आशावादी दृष्टिकोण व्यक्त गरे पनि कुनै ठोस सम्झौता हुने ग्यारेन्टी नभएको स्पष्ट पार्नुभएको छ ।
कुवेत विमानस्थलमा भएको पछिल्लो आक्रमणले मध्यपूर्वमा चलिरहेको सैन्य तनाव अझै नियन्त्रण बाहिर जान सक्ने चिन्ता बढाएको छ । यसले नागरिक संरचना र अन्तर्राष्ट्रिय उडान सुरक्षामाथि थप दबाव सिर्जना गरेको छ ।


