
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा युवा व्यवसायी युवराज निरौलाले ‘व्यवसायी सदस्य राहतकोष’ मा हमज पुनः सहयोग गरेका छन् ।
आफ्नो जन्मदिनको अवसर पारेर निरौलाले कोषमा ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेका हुन् । यसअघि पनि दुई पटक जन्मदिनकै अवसरमा कोषमा आर्थिक सहयोग गरेका निरौलाले यस वर्षसमेत सहयोग गर्दै राहतकोष प्रतिको आफ्नो प्रतिवद्धता दोहोर्याएका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघ कार्यसमितिले उद्योगी–व्यवसायीको दुःख, संकट तथा आकस्मिक परिस्थितिमा साथ दिने उद्देश्यले ‘व्यवसायी सदस्य राहतकोष’ स्थापना गर्ने निर्णय गरेको थियो । कोषलाई दीर्घकालीन र प्रभावकारी बनाउने लक्ष्यसहित एक करोड रुपैयाँको अक्षय कोष निर्माण गर्ने योजना अघि सारिएको छ ।
राहतकोष सञ्चालन तथा व्यवस्थापनका लागि संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’को संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ । समितिले कोषमा आर्थिक स्रोत जुटाउने, व्यवस्थापन गर्ने तथा आवश्यकताका आधारमा राहत वितरण गर्ने जिम्मेवारी पाएको छ ।
संघका पदाधिकारीका अनुसार कोष स्थापनाको परिकल्पनाकार र सबैभन्दा पहिले आर्थिक सहयोग गर्ने व्यक्ति पनि युवराज निरौला नै हुन् । उनले प्रारम्भमै ११ हजार १११ रुपैयाँ प्रदान गर्दै कोषको शुभारम्भ गराएको संघका महासचिव कुशल खतिवडाले जानकारी दिए ।
त्यसयता निरन्तर रूपमा सहयोग गर्दै आएका निरौलाले यस वर्षको जन्मदिनमा समेत सोही रकम प्रदान गरी कोषप्रति आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिएका छन् ।
यसैबीच, बिर्तामोड उद्योग वाणिज्य संघले निरौलालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उनको सुस्वास्थ्य, दीर्घायु, पारिवारिक सुख–समृद्धि तथा व्यवसायिक सफलताको कामना गरेको छ ।


