२०८३ जेठ १७ आइतवार , ०१:२२:४१ बजे

Sajhamanch
'

एसियन गेम्स छनोट : नेपालले चीनलाई २२१ रनले हरायो

आइतवार, जेठ १७, २०८३

काठमाडौं । चीनलाई हराउँदै नेपाली क्रिकेट टोलीले एशियाली खेलकुद छनोटमा विजयी शुरुआत गरेको छ ।

सिङ्गापुरमा आज भएको उद्घाटन नेपालले चीनलाई २२१ रनले हरायो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको चीनले १९ ओभर २ बलमा ९२ रन बनाउँदा सबै विकेट गुमायो । चीनकाशेन्जियान झेङले ३१ रन बनाए । नेपालका कुशल मल्लले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनायो । नेपालका कुशल भुर्तेलले शतक बनाए । भुर्तेल ४३ बलमा १६ छक्का र ५ चौकाको मद्दतमा १२९ रन बनाएर आउट भए । यस्तै कुशल मल्लले नटआउट ८५, रोहित पौडेलले ६९ रन बनाए । चीनका मा क्वानचेङ र देङ जिनकीले १/१ विकेट लिए ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो दोस्रो धेरै रन हो । यसअघि सन् २०२३ मा नेपालले एशियाली खेलकुदमा मङ्गोलियासँगको खेलमा ३१४ रन बनाएको थियो ।

आजको खेलमा कुशल भुर्तेलले खेलको नवौँ ओभरमा ६ छक्का प्रहार गरे । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो र विश्वका छैटौँ खेलाडी हुन् ।

यो जीतसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ । यो समूहमा नेपाल, चीन र मलेशिया छन् । यसअघि यो समूहमा रहेको कतारले प्रतियोगितामा सहभागिता नजनाएपछि समूहमा ३ वटा टोली रहेका हुन् । यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, ओमान र सिङ्गापुर छन्।

सम्बन्धित खबर