२०८३ जेठ १७ आइतवार , ११:४४:०४ बजे

Sajhamanch
'

सर्लाहीमा ४० किलोमिटर हुलाकी सडक निर्माण एक दशकदेखि अधुरै

आइतवार, जेठ १७, २०८३

सर्लाही । सर्लाहीमा पूर्व–पश्चिम हुलाकी सडक निर्माणको काम ठेक्का लागेको एक दशकसम्म पनि पूरा भएको छैन ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले संग्रामपुरस्थित बाँके खोलादेखि बलरास्थित बागमती नदीसम्मको ४० किलोमिटर सडक तीन खण्डमा ठेक्का दिएको थियो । २०७३ साउनदेखि सुरु भएको निर्माण कार्य हालसम्म सात पटक म्याद थप हुँदासमेत सम्पन्न हुन सकेको छैन ।

निर्देशनालयले बाँके खोलादेखि सदरमुकाम मलंगवासम्म १५ किलोमिटर सडक निर्माणका लागि २३ करोड रुपैयाँमा हिन्दुंग ठक्कर हिरा एन्ड नमिता कन्स्ट्रक्सनलाई दिएको थियो । यसैगरी मलंगवादेखि रहुवासम्मको १५ किलोमिटर सडक २४ करोड रुपैयाँमा हिन्दुंग ठक्कर साह निर्माण सेवाले नै पाएको थियो ।

यस्तै रहुवादेखि बलरास्थित बागमती नदी किनारसम्मको १० किलोमिटर सडक १६ करोड रुपैयाँमा हिन्दुंग ठक्कर डिभा कन्स्ट्रक्सनले पाएको थियो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी तथा इन्जिनियर रञ्जित कुमार रायका अनुसार बाँके खोलादेखि मलंगवासम्मको १५ किलोमिटर सडक अझै अधुरो अवस्थामा छ । ‘कतिपय स्थानमा कालोपत्रे गरिए पनि बिग्रिएको छ, धेरै ठाउँमा काम अधुरै छ,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार मलंगवादेखि रहुवासम्मको १५ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भए पनि मुसैलीस्थित एकपोखरी अगाडि करिब १०० मिटर सडक कालोपत्रे हुन बाँकी छ । रहुवादेखि बलरास्थित बागमती नदी किनारसम्मको १० किलोमिटर सडक पनि अधुरै रहेको उहाँले बताउनु भयो ।

सडकसँगै दुई ठूला पुल निर्माणमा समेत ढिलाइ भएको छ । झिम र लखनदेही नदीमा बन्ने पुलको ठेक्का वेदांशी कन्स्ट्रक्सनले पाएको छ । दुवै पुलको लागत करिब ३०–३० करोड रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

इन्जिनियर रायका अनुसार लखनदेही पुलको डिजाइन स्वीकृत भइसके पनि निर्माण कार्य सुरु हुन सकेको छैन भने झिम पुलको डिजाइन स्वीकृत नभएका कारण काम अघि बढ्न सकेको छैन । दुवै पुल निर्माणको म्याद २०८४ साउन मसान्तसम्म छ ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले हुलाकी सडक निर्माणको काम अघि बढिरहेको दाबी गर्नुभयो । उहाँका अनुसार केही दिनअघि मात्रै हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतोसँग छलफल भएको थियो ।

‘कौडेना क्षेत्रमा कल्भर्ट निर्माणका विषयमा स्थानीयले अवरोध गरेका थिए, त्यो समस्या समाधान गरिएको छ,’ उहाँले भन्नुभयो, ‘ठेकेदारसँग पनि पटक–पटक छलफल भइरहेको छ । काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छौं । निर्धारित समयमा काम नभए कारबाही प्रक्रिया अघि बढाउने समेत बताएका छौं ।’

उहाँले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको उल्लेख गर्दै निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

हुलाकी सडक निर्माणका लागि यहाँका बासिन्दाले लामो समयदेखि दबाब दिँदै आइरहेका छन् । सडक निर्माणमा दबाब सिर्जना गर्ने उद्देश्यले पटक–पटक जिल्लाका सांसद, पालिका प्रमुख, नागरिक समाजका अगुवालगायत धर्नामा बस्दै आएका छन् । सरकारका मन्त्रीहरूले पटक–पटक जिल्ला आएर आश्वासन दिँदासमेत हुलाकी सडकको अवस्था उस्तै रहँदा यहाँका बासिन्दा निराश भइरहेका छन् ।

हुलाकी सडकमा पर्ने मलंगवा–२ का स्थानीय मनोज यादवले निर्माण कम्पनी र सम्बन्धित निकाय दुवैको कमजोरीका कारण आयोजना लम्बिएको बताउनु भयो । ‘समयमै अनुगमन र दबाब भएको भए सडक यति लामो समय अधुरो रहने थिएन,’ उहाँले भन्नुभयो, ‘स्थानीयले दैनिक दुःख पाइरहेका छन्, अब काम तीव्र गतिमा अघि हुनुपर्छ ।’

सम्बन्धित खबर