
पाँचथर । पाँचथरको याङ्वरकमा बाढी पहिरोले दुईवटा घर बगाएको छ ।
याङ्वरक- १ महमलाल खवासको बस्ने घर र गोठमा बगाएको छ भने सोही ठाउँका कविराज राईको घर पनि बगाएको छ । यस्तै बलबहादुर खालिङको भान्सघर समेत पहिरो बगाएको छ ।
बाढी पहिरोले मध्यपहाडी लोकमार्गको थर्पु चिवाभञ्ज्याङ खण्ड अवरुद्ध भएको छ । मोबाइलको नेटवर्क नभएको तथा विद्युत् अवरुढ भएकाले विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।
ठाउँ ठाउँमा पहिरो खसेको स्थानीयले जानकारी दिएका छन् । दोभाने भन्ने ठाउँमा डाइभर्सन बगाएको छ भने निर्माणाधीन पूल पनि बगाएको जनाइएको छ ।
पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पूलमा क्षति पुग्दा यातायात अवरुद्ध भएको छ ।
बाढीले याङ्वरक- १ स्थित च्याङथापु र चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पूल, च्याङथापु-एकराते जोड्ने र याङवरक २ दोभानेस्थित नाम्रेक फलैचा जोड्ने झोलुङ्गे पूललाई बाढीले क्षति गरेको छ । ओयाम बजार छेउमा पहिरो गएको हो ।
यस्तै पाँचथरको हिलिहाङ र ताप्लेजुङ जोड्ने गरी निर्माणाधीन लिम्बुनी मोटरएबल पूल पनि बगाएको छ । सिँचाइ कुलो, खानेपानी, विद्युतमा पनि क्षति पुगेको छ ।
क्षतिको विवरण संकलन भइरहेको भए पनि फोन सम्पर्क हुन नसक्दा समस्या भएको पाँचथरका प्रहरी प्रमुख डिएसपी अनिश कर्णले बताए ।
बाढीले अलैँची खेतीमा ठूलो क्षति पुर्याएको छ । यस्तै खोलाको तटीय क्षेत्रमा खेतीबारीमा ठूलो क्षति भएको छ । कावेली र तमोरजस्ता खोलामा बाढी आएको छ ।


