२०८३ जेठ ८ शुक्रवार , ०९:२५:११ बजे

Sajhamanch
'

शिवसताक्षीमा भेट्रान भिडन्त : कनकाई, झिलझिले र श्रीजङ्गा दोस्रो चरणमा प्रवेश

शुक्रवार, जेठ ८, २०८३

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा जारी चौथो कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार तीन वटा रोमाञ्चक खेलहरु सम्पन्न भएका छन्। प्रतिस्पर्धात्मक खेलपछि कनकाई भेट्रान, झिलझिले भेट्रान र श्रीजङ्गा भेट्रान भद्रपुरले दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन्।

पहिलो खेलमा कनकाई भेट्रानले दूधे भेट्रानलाई ट्राइब्रेकरमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्‍यो। निकै प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता दूधेले बनाएको भए पनि कनकाईले जीत निकालेको हो ।

दूधेका बहादुर आङ्बोले गोल गर्दै टोलीलाई अघि बढाएका थिए। त्यसपछि कनकाईका सुरेन्द्र आन्दङ्बेले बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाए। निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो।

ट्राइब्रेकरमा दूधेका श्यामबहादुर लिम्बू, यामप्रकाश चेम्बाङ र दिपेन थेगिमले गोल गरे। शान्त आङ्बोको प्रहार पोलमा लागेर बाहिरिँदा बहादुर आङ्बोको प्रहार कनकाईका गोलकिपर गणेशमान तामाङले बचाउ गरेका थिए।

कनकाईका पालुम किप्गेन, बहादुर श्रेष्ठ, सूर्य गर्तौला र दिलकुमार कार्कीले गोल गरे भने नन्दी हेमरमको प्रहार दूधेका गोलकिपरले रोकेका थिए। उत्कृष्ट प्रदर्शन गरेका गणेशमान तामाङ खेलको म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा झिलझिले भेट्रानले बौद्ध भेट्रान पाँचथर माथि प्रभावशाली जीत निकाल्यो। खेल सुरु भएको तेस्रो मिनेटमै प्रवेश कटुवालले गोल गर्दै झिलझिलेलाई अग्रता दिलाएका थिए। त्यसपछि विशाल राई चम्किए। उनले ३०, ४३ र ४५औं मिनेटमा गोल गर्दै शानदार ह्याट्रिक पूरा गरे।

खेलको ५१औं मिनेटमा जसु राईले अर्को गोल थप्दै झिलझिलेलाई फराकिलो जित दिलाए।

बौद्ध भेट्रानका लागि दिनेश राईले २५ र ३५औं मिनेटमा दुई गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उत्कृष्ट प्रदर्शन गरेका प्रवेश कटुवाल खेलको म्यान अफ द म्याच घोषित भए।

तेस्रो खेल चारपाने भेट्रान र श्रीजङ्गा भेट्रान भद्रपुरबीच निकै रोमाञ्चक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्।

दोस्रो हाफको ३६औं मिनेटमा बिनोद बान्तवाले गोल गर्दै श्रीजङ्गालाई अग्रता दिलाए। त्यसको चार मिनेटपछि ४०औं मिनेटमा हर्कधन साउदेनले बराबरी गोल फर्काउँदै खेललाई ट्राइब्रेकरमा पुर्‍याए।

ट्राइब्रेकरमा श्रीजङ्गाका बिनोद बान्तवा, रणवीर आङ्दम्बे, ललितकुमार लिम्बू, भीमबहादुर मगर र शिवा राईले गोल गरे। चारपानेका रबिन राई, पूर्णबहादुर लिम्बू, अमित गुरुङ र धनबहादुर गुरुङले गोल गरे भने प्रकाश मेचेको प्रहार पोलमा लागेर बाहिरिएको थियो। उत्कृष्ट प्रदर्शन गरेका बिनोद बान्तवा खेलको म्यान अफ द म्याच बने।

प्रतियोगिताअन्तर्गत शनिबार पहिलो चरणको अन्तिम खेल दूधे भेट्रान निलो र फिदिम भेट्रानबीच हुनेछ। साथै दोस्रो चरणको पहिलो खेलमा पुर्वेली भेट्रान र कनकाई भेट्रान आमनेसामने हुनेछन्।

सम्बन्धित खबर