२०८३ जेठ ८ शुक्रवार , ०४:५७:२८ बजे

Sajhamanch
'

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

शुक्रवार, जेठ ८, २०८३

काठमाडौं । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस स्थानीय प्रयास, विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष मे २२ मा मनाइने यो दिवस सन् १९९२ मा जैविक विविधता महासन्धि अङ्गीकार गरिएको स्मृतिमा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको हो ।

एकातिर जैविक विविधता सङ्कटमा पर्दै गएको छ भने अर्कातिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन् । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेशकुमार राईका अनुसार नेपाली रुपैयाँ डलरको तुलनामा अवमूल्यन हुँदा यो राजस्व गुमेको हो ।

नेपालका प्रमुख संरक्षित क्षेत्रहरूले अक्टोबर २०१५ देखि विदेशी पर्यटकबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँको स्थिर प्रवेश शुल्क लिँदै आएका छन् । तर पछिल्लो एक दशकमा रुपैयाँ झन्डै साढे ३१ प्रतिशतले अवमूल्यन भएकाले सन् २०१५ मा झन्डै २८ डलर रहेको शुल्क अहिले साढे १९ डलरमा झरेको छ । यही कारण विगत १० वर्षमा लाङटाङ, सगरमाथा र अन्नपूर्ण संरक्षण क्षेत्रले मात्रै २२ लाख ८९ हजार अमेरिकी डलर राजस्व गुमाएका छन् ।

प्राध्यापक राईले समाधानका लागि प्रवेश शुल्क डलरमा निर्धारण गर्नु, निजी क्षेत्रलाई संरक्षणमा आकर्षित गर्नु र समर्पित जैविक विविधता संरक्षण कोष स्थापना गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

संरक्षित क्षेत्रलाई प्रकृति जोगाउने थलो मात्र नभई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा स्थापित गरिनु जरुरी रहेको विज्ञहरू बताउँछन् ।

सम्बन्धित खबर