२०८३ जेठ ८ शुक्रवार , ०३:२२:४३ बजे

Sajhamanch
'

कञ्चनपुरमा सेवाग्राहीलाइ घरमै पुर्याइयो राहदानी

शुक्रवार, जेठ ८, २०८३

कञ्चनपुर । कञ्चनपुरमा सेवाग्राहीलाइ घरको ठेगानामै राहदानी पुर्याउन थालिएको छ। सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं. २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला हुलाक कार्यालय कञ्चनपुरले जनाएको छ ।

घर ठेगानामै राहदानी पुर्याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच गत वैशाख महिनामा सम्झौता भएको थियो । हुलाक कार्यालय कञ्चनपुरका प्रमुख सरोज पाण्डेयले बिहीबारदेखि सेवाग्राहीको घर आँगनमै राहदानी पुर्याउन थालिएको जानकारी दिए।

उनले भने ‘पहिलो दिन हामीले प्रशासनबाट प्राप्त गरेका १४ वटामध्ये १३ राहदानी सेवाग्राहीको घरमै पुर्यायौँ।’ प्रमुख पाण्डेले भने ‘हामी प्रशासनबाट प्राप्त गरेको दोस्रो दिन नै यहाँका सबै पालिकामा घरमै पुगेर वितरण गर्न सक्छौँ ।’

बिहीबार मात्रै पुर्नवास नगरपालिकामा सात, बेलौरीमा एक, दोधारा चादँनीमा तीन, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा एक-एक राहदानी हुलाक कर्मचारीले सेवाग्राहीको घरमै पुर्याएका थिए।

जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरिरहेका बेला प्रशासन कार्यालयसितको सम्झौतामा आगामी दिनमा घरदैलोमै राहदानी चाहने सेवाग्राहीका लागि सहजता मिलेको छ ।

‘प्रशासनमा राहदानी फारमसँगै घरमै राहदानी चाहने सेवाग्राहीले ठेगानासहितको छुट्टै फारम पनि भर्नुपर्ने हुन्छ।’ प्रमुख पाण्डेयले भने ‘सबै पालिकामा हुलाका सेवा हुँदा राहदानी पुर्याउन छरितो र सजिलो पनि भयो ।’

सम्बन्धित खबर