२०८३ जेठ ८ शुक्रवार , ०२:४९:१४ बजे

Sajhamanch
'

नेपालले दियो अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य

शुक्रवार, जेठ ८, २०८३

काठमाडौं । घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो । यसअघि सन् २०२३ मा नेपालले ओमानसँगको खेलमा ३१० रन बनाएको थियो ।

कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३१७ रन बनायो । नेपालका ईशान पाण्डेले ८४, दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ रन बनाए । अमेरिकाका शुभम् रन्जनेले ३ विकेट लिए । यही शृङ्खलाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो ।

कीर्तिपुरमा चलिरहेको लिग–टु शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन् । नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेट, तेस्रो खेलमा फेरि स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।

लिग–टु तालिकामा नेपाल २७ खेलमा २२ अङ्कसहित पाँचौ स्थानमा छ । अमेरिका २७ खेलमा ३८ अङ्कसहित शीर्ष र स्कटल्यान्ड ३२ खेलमा ३८ अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

सम्बन्धित खबर