२०८३ वैशाख २१ सोमवार , ११:५३:३८ बजे

Sajhamanch
'

कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असुरक्षित र जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

अरु भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा आवश्यक निर्णय लिइने उहाँको भनाइ छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले सरकारले कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “सरकारका सम्पूर्ण कदमहरू नागरिकको आवासको हक सुनिश्चित गर्दै दीगो समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्,” सन्देशमा भनिएको छ ।

उहाँले अपुष्ट सूचना नफैलाउन, भ्रममा नपर्न र अनावश्यक रूपमा नआत्तिन आग्रह गर्नुभएको छ । साथै हरेक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाइ छ ।

काठमाडौं उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण हटाउने विषयमा टीकाटिप्पणी भैरहँदा प्रधानमन्त्री शाहले सरकारको तर्फबाट आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

साथै उहाँले सरकारले सञ्चालन गरिरहेको अतिक्रमित संरचना हटाउने अभियानलाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूमा त्रास फैलाउने प्रयास भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । विशेष गरी उठिबास हुने आशंका फैलाउने गतिविधिप्रति सरकार सचेत रहेको प्रधानमन्त्रीको भनाइ छ ।

केही कानुनी जटिलता हटाइएपछि वास्तविक भूमिहीन नागरिकहरूको पहिचानका लागि डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा अभिलेख व्यवस्थापनको कार्य समेत शुरु गरिएको प्रधानमन्त्री शाहले जानकारी गराउनुभएको छ ।

सम्बन्धित खबर