
झापा । झापाका संस्थागत विद्यालयले आगामी बैशाख १४ सोमवारदेखि पठनपाठन सुरु गर्ने भएका छन् । पठनपाठन सुरु नगर्दा विद्यार्थीको शैक्षिक गतिविधि नै प्रभावित हुने भएपछि आउँदो सोमवारदेखि पठनपाठन सुरु गर्न लागिएको प्याब्सन झापाका अध्यक्ष छत्र कार्कीले जानकारी दिए ।
बैशाख १५ देखि भर्ना खोलेर २१ गतेदेखि पठनपाठन शुरु गर्ने सरकारको निर्णयले विद्यार्थीको सिकाई उपलब्धि र समग्र शैक्षिक वातावरणमा नकारात्मक असर पार्ने भन्दै पठनपाठन सुरु गर्न लागिएको अध्यक्ष कार्कीले बताए ।
उनका अनुसार विद्यालय सञ्चालनको वातावरण तयार गरिदिन जिल्लाका स्थानीय तहमा अनुरोध पत्र बुझाइएको भए पनि स्थानीय तहहरुले विद्यालय सञ्चालनका लागि सुनुवाई नगरे पछि विद्यालयले पठनपाठन सुरु गर्ने निर्णय लिएका हुन् । शनिबार र आइतबारको छुट्टिपछि विद्यालयमा पठनपाठन सुरु हुन्छ, अध्यक्ष कार्कीले भने– विदाको समय बर्खे र हिउँदेबाट मिलान गर्दै जानेछौं ।
झापामा अधिकांश विद्यालयहरुले पठनपाठन नभए पनि विद्यालयमा आवश्यक तयारीको काम गरिरहेका छन् । बैशाख ३ गतेबाटै शिक्षक कर्मचारीहरु नयाँ शैक्षिक शत्रको लागि आवश्यक तयारी गरिरहेको उनको भनाई छ । शिक्षकहरुलाई तालिमदेखि विभिन्न योजना निर्माणमा लाग्नुभएको छ, उनले भने– पठनपाठन नभए पनि विद्यालयहरु खुल्लै छन् । हामी ७ गतेबाटै पठनपाठनको तयारीमा थियौं ।
पठनपाठन सुरु नभएपछि अभिभावकहरु सोधपुछका लागि विद्यालय आउने क्रम जारी रहेको बताइएको छ । अधिकांश अभिभावकहरुले विद्यालयमा पठनपाठन सुरु गर्न भनिरहेको अध्यक्ष कार्कीको भनाई छ । अभिभावकहरु पनि पठनपाठन सुरु गर्नुपर्ने सुझाव दिइरहेका छन् ।
झापाबाहेक धेरै जिल्लाहरुमा पठनपाठन सुरु भएको बताउँदै अध्यक्ष कार्कीले अब पर्खने अवस्था नरहेको स्पष्ट पारे । लामो समय विद्यार्थीहरुलाई विद्यालय बाहिर राख्न पनि समस्या हुने उनको तर्क छ ।
बैशाखको शुल्क के गर्नुहुन्छ भन्ने जिज्ञासामा जवाफ दिदैं उनले भने, अभिभावकहरु नै शुल्क बुझाउन तयार हुनुहुन्छ । १२ महिनाको शुल्क लिएर शिक्षकलाई १३ महिनाको तलव सुविधा उपलब्ध गराउनुपर्छ । नेपाल सरकारको नियम बमोजिम अभिभावकहरुबाट शुल्क लिइने अध्यक्ष कार्कीले जानकारी दिए ।
मेचीनगर १२ स्थित युनिक इङलिस् बोर्डिङ स्कूलका सञ्चालक विष्णुप्रसाद रिमालले पठनपाठन सुरु गर्नुको विकल्प रहेको बताए । उनले सरकारले बिना जानकारी र पूर्वतयारी आफ्नो योजना सार्वजनिक गर्दा पठनपाठन प्रभावित भएको धारणा व्यक्त गरे ।
रिमालले लामो समय पठनपाठन रोकिँदा शैक्षिक क्षेत्रमै समस्या आउने प्रतिक्रिया दिए । शैक्षिकसत्र सञ्चालन पूर्व जानकारी नदिँदा विद्यालय र विद्यार्थीमा अन्यौल भएको बताए । उनका अनुसार बालबालिकाहरु विद्यालय आउन नपाउँदा तनावमा पर्न सक्छन् ।
नियमित पठनपाठन, साथीभाइसँगको घुलमिलले विद्यार्थीलाई सक्रिय बनाउने बताए । रिमाल भन्छन्, कोभिडमा लागेको मोवाइलको लत बल्ल छुट्दै थियो । यस्तै, समय रहिरहने हो भने फेरि उस्तै होला भन्ने पीर छ ।


