
भद्रपुर । खेलको सुरुवाती १४औँ मिनेटमै १० खेलाडीमा सीमित भएको नेपाल पुलिस फुटबल क्लब झापाको भद्रपुरमा जारी ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुलिसले भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । सेमिफाइनलमा पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।
खेलको १४औँ मिनेटमा लक्ष्मीबाईले अग्रता लियो । पुलिसकी गोलकिपर उषा नाथले डिबक्स बाहिर आएर गोल समातेपछि उनी रातो कार्ड खाँदै मैदान बाहिर निस्किन् । उनको स्थानमा वैकल्पिक गोलकिपर सपना राई मैदान प्रवेश गरिन् ।
नाथको स्थानमा सहारा लिम्बूले मैदान छोडेपछि पुलिस १० खेलाडीमा सीमित भयो । लक्ष्मीबाईले डिबक्स नजिकै पाएको त्यो फ्रिकिकलाई बिनी कुमारीले प्रहार गरिन् । पुलिसकी गोलकिपरबाट रिबाउन्स भएको बललाई हेमन्ती कुमारीले गोल गरिन् ।
१–० गोलले पछि परेको पुलिसले त्यसको केही समय लय गुमाएको थियो । पुलिसले ३८औँ मिनेटमा खेल बराबरी गर्यो । मिना देउवाको क्रस पासमा रेखा पौडेलले हेडमार्फत गोल गर्दै पुलिसलाई लयमा फर्काइन् ।
खेलको ४६औँ मिनेटमा पुलिसले अर्को गोल थप्यो । पूजा रानाले गरेको कर्नर प्रहार लक्ष्मीबाईकी गोलकिपर रुपाली कुमारीको हातबाट रिबाउन्स भएको मौकामा कप्तान अमृता जैसीले वान टच गोल गरिन् ।
५३औँ मिनेटमा पुलिसले तेस्रो गोल थप्यो । पूजा रानाको क्रस पासमा सम्झना लावतीले गोल गर्दै पुलिसको जित निश्चित गरिन् । खेलको ६७औँ मिनेटमा पुलिसका नियमित स्ट्राइकर मिना देउवाले गोल गरिन् । पूजा रानाको फ्रिकिकमा रेखा पौडेलले डिबक्समा मिलाइदिएको बललाई देउवाले गोल गरिन् ।
खेलको इन्ज्युरी समयमा पूजा रानाले गोल गर्दै गोल अन्तर ५–१ मा पुर्याइन् । मैदानको मध्यभागबाट प्रहार गरेको लङ रेञ्जर सटले लक्ष्मीबाईका गोलकिपरको हातमा लाग्दै जाली चुमेको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम नेपाल पुलिसकी पूजा राना भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।
भोलि (बिहीबार) अन्तिम क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच हुनेछ ।


