
झापा । अफ्रिकी देशहरूले हवाई क्षेत्र बन्द गरेपछि ताइवानका राष्ट्रपति लाइ चिङ–तेलेले अफ्रिकी राष्ट्र इस्वातिनीको भ्रमण रद्द गर्नुभएको छ ।
चीनले आफ्ना छिमेकीहरूलाई आफ्नो क्षेत्रमाथि उडान गर्नबाट रोक्न दबाव दिएको आरोप लगाउँदै ताइवानी राष्ट्रपति चिङ–तेलेले भ्रमण रद्द गर्नुभएको बीबीसीले जनाएको छ ।
चीनको तीव्र दबाव र आर्थिक प्रतिबन्धको चेतावनीपछि अफ्रिकी देशहरू– सेशेल्स, मौरिसस र मडागास्करले लाइको ‘ओभरफ्लाइट’ अनुमति रद्द गरेको ताइवानका एक अधिकारीले बताएका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार सेशेल्स र मडागास्करले ताइवानलाई मान्यता नदिने भएकाले यो निर्णय लिएको बताएका छन् । चीनले तीन अफ्रिकी देशहरूको कदमको प्रशंसा गरेको छ ।
उडान अनुमति रद्द गरिएका कारण ताइवानी नेताले विदेश भ्रमण रद्द गर्नुपरेको यो पहिलो पटक हो । पहिले स्वाजिल्यान्डको रूपमा चिनिने इस्वातिनी अफ्रिकामा ताइवानको एक मात्र कूटनीतिक सहयोगी हो ।
यस्तै इस्वातिनी ताइवानलाई मान्यता दिने १२ वटा देशमध्ये एक हो – जसमध्ये धेरै ल्याटिन अमेरिका वा प्रशान्त क्षेत्रका साना देशहरू छन् ।
चीनले ताइवान आफ्नो भू–भाग भएको दाबी गर्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र देश भन्दै आएको छ ।


