२०८१ वैशाख २४, सोमवार , ०३:३०:५१ बजे

Sajhamanch
'

इलाम २ को उपनिर्वाचनका मतदातासँग सेतोपाटी : १०९६ मतदातासँग कुराकानी, यस्तो निकाल्यो निश्कर्ष

बुधवार, वैशाख १२, २०८१

इलाम । मनमाया खनाल गएको मंसिर १० बाट ९२ वर्ष लागिन्।

दुई वर्षअघि ९० को नेटो काट्दा छोरा–बुहारी र नाति–नातिनाहरूले उनको जन्मदिन धुमधामका साथ मनाएका थिए, जसको एउटा प्रमाण घरको भित्तामा अहिलेसम्म बाँकी छ।

काठै काठले बनेको घरको पिँढीमा बसेकी मनमायालाई हामीले ‘कति वर्ष हुनुभयो आमै’ भनेर सोधेका थियौं। जबाफमा उनले पछाडि भित्तातिर देखाइन्, जहाँ दुई वर्षअघि टांगिएको जन्मोत्सव समारोहको तुल झुन्डिएको थियो।

तुलमा अंग्रेजीमा लेखिएको थियो— ९०औं जन्मदिनको शुभकामना आमा !

इलामको चुलाचुली गाउँपालिका–५ बुकुवा बजारकी मनमाया त्यति बेला औषधि खान लागेकी थिइन्। हामीलाई देख्नेबित्तिकै उनले मुखमा हालिसकेको पहेँलो चक्की फेरि हातमा लिइन् र मिठो स्वरमा भनिन्, ‘कल्लाई भेट्न आयौ नानी ?’

हामीले आफ्नो परिचय दियौं र इलाम क्षेत्र नम्बर २ को चुनावी हालचालबारे कुराकानी गर्न आएको बतायौं। सँगसँगै यो पनि भन्यौं, ‘हामी त यो निर्वाचन क्षेत्रमा पर्ने सबै स्थानीय तहका ४२ वटै वडा घुम्दै छौं नि आमै ! हजार जनाभन्दा बढी मतदाता भेट्ने उद्देश्य छ।’

उनले जिब्रो टोकिन् र भनिन्, ‘हजार जनाका घर–घरमै जाने ?’

हामीले टाउको हल्लायौं।

त्यसपछि उनले अत्यन्तै मायाका साथ हामीलाई पिँढीमा बसालिन् र कुराकानी सुरू गरिन्।

मनमाया यो उमेरमा पनि कान राम्ररी सुन्छिन्। आँखा राम्ररी देख्छिन्। उनको स्वर प्रस्ट छ। घुँडा अलि अलि दुख्छ, तर हिँड्न–डुल्न समस्या छैन। हामीले यही कुरा भन्दै उनको स्वास्थ्यको तारिफ गर्दा उनले थपेकी थिइन्, ‘म नाच्न पनि सक्छु। अस्ति सुहाङको कार्यक्रममा छमछमी नाचेको थिएँ। मोबाइलतिर पनि राखेका छन् भिडिओ, नानीले हेर्‍यौ ?’

हामीले उनी नाचेको भिडिओ त हेरेका थिएनौं, तर राजनीतिक झुकाव प्रस्टै बुझ्यौं।

‘भोट हाल्न जानुहुन्छ त आमा ?’

हाम्रो यो प्रश्नमा मनमायाले भनिन्, ‘मरेपछि शरीर खरानी भएर जाने हो, सास रहेसम्म पाइने अधिकार किन गुमाउनु हौ ! म त बाँचुञ्जेल एमालेलाई नै भोट हाल्छु।’

‘पहिले सुवास नेम्वाङलाई भोट हाल्थेँ’ उनले अगाडि भनिन्, ‘यसपालि उनकै छोरा सुहाङ उठेका छन्, उनैलाई हाल्ने हो।’

उता इलाम नगरपालिका–६ खरेलडाँडाका एक मतदाताले २०७९ को संसदीय चुनावमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई भोट हालेको र यसपालि पनि उनैलाई दिने बताए।

‘हामी त सुरूदेखि कांग्रेस। लोकतन्त्र ल्याउन लडेका मान्छे हौं हामी’ ५० वर्ष नाघेका ती मतदाताले भने, ‘रूख छाडेर दायाँ–बायाँ कहीँ जाँदैन हाम्रो भोट।’

हामीले जानी जानी उनको परिचय सोधेका थिएनौं। उनले पनि भनेका थिएनन्।

सडक किनार भेटिएका उनी कुराकानी सकेर आफ्नो घरतिर लागे। उनको घर सडक छेउकै डाँडामाथि थियो। हामी अर्को मतदातासँग कुरा गरिरहँदा उनले डाँडा माथिबाटै चिच्याएर हामीलाई बोलाए र भने, ‘ए भाइ, मेरो नाम त सोधेनौ नि ?’

‘नाम नभने पनि फरक पर्दैन बुबा’ हामीले कराएरै जबाफ दियौं।

‘किन नभन्ने ! नामसहित छाप्नू मेरो कुरा’ उनले भने, ‘मेरो नाम बुद्धिमान राई हो।’

उनले यति भनेर पनि चित्त बुझाएनन् र फेरि चर्किएर भने, ‘डायरीमा टिपिहाल्नू मेरो नाम।’

मनमाया खनाल र बुद्धिमान राईजस्ता मतदाता इलाम–२ मा एमाले र कांग्रेसको निरन्तर वर्चश्व धानेका मानिस हुन्। जेसुकै राजनीतिक मुद्दा हुन् वा चुनावमा जुनसुकै नयाँ पार्टी वा नेता उठून्, उनीहरूको मत दायाँ–बायाँ नगरी एमाले र कांग्रेसलाई नै जान्छ। हामीले भेटेका नयाँ मतदातामध्ये अधिकांशले रास्वपालाई चुन्ने बताए पनि ठूलो संख्यामा रहेका पुराना मतदाताको झुकाव भने कांग्रेस र एमालेतिरै छ। वैदेशिक रोजगारबाट छुट्टीमा आएकाहरूले भने नयाँलाई नै धेरै रोजेको पाइन्छ।

हामीले पछिल्ला पाँच दिनमा इलाम–२ अन्तर्गत पर्ने इलाम, देउमाई र माई नगरपालिका र चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका ४२ वटै वडा भ्रमण गरेर १०९६ जना मतदातालाई भेटेका छौं।

यी मतदातासँगको कुराकानीबाट हामी के निष्कर्षमा पुगेका छौं भने इलाम–२ को उपनिर्वाचनमा अघिल्लोचोटि जस्तै यसपालि पनि नेकपा एमाले र नेपाली कांग्रेसकै बीच कडा टक्कर हुनेछ।

दुवै पुराना दलका उम्मेदवारले अघिल्लोचोटि प्राप्त भोटको ६० प्रतिशतभन्दा बढी जोगाएर राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र ‘मूढा’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले कांग्रेस र एमाले दुवै दलका भोट काट्ने छन्। भोट काट्नेमा रास्वपा अगाडि छ। एमाले र कांग्रेस दुवैको बढी भोट काट्ने उही हो।

नयाँ दल र मूढामा भोट चुहिएर गए पनि इलाम–२ मा दुवै पुराना दलले आ–आफ्नो राजनीतिक साख गुमाएका छैनन्। स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार दुवैलाई कांग्रेस र एमालेको नजिक आउन गाह्रो पर्ने देखिन्छ। एमाले र कांग्रेसको प्रतिस्पर्धा पहिलो स्थानका लागि छ भने उनीहरूको प्रतिस्पर्धा तेस्रो स्थानका लागि हुनेछ। तेस्रोको प्रतिस्पर्धामा रास्वपा अगाडि छ।

एक लाख १५ हजारभन्दा बढी मतदाता रहेको यो निर्वाचन क्षेत्रमा २०५६, २०७४ र २०७९ को आमनिर्वाचन अनि २०६४ र २०७० का दुइटै संविधानसभा निर्वाचनमा एमालेका सुवास नेम्वाङ विजयी भएका थिए। गएको भदौ २६ मा हृदयाघातका कारण उनको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

हामीले कुराकानी गरेका १०९६ मतदातामध्ये एमालेका सुहाङ नेम्वाङलाई भोट दिन्छु भन्नेहरू ३६५ जना अर्थात् ३३ प्रतिशत छन्। त्यस्तै, कांग्रेसका डम्बरबहादुर खड्कालाई भोट दिन्छु भन्नेहरू ३०४ जना छन्। यो हामीले भेटेका मतदाताको २८ प्रतिशत हो।

तेस्रो स्थानमा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूलाई हामीले भेटेकामध्ये १८६ जनाले भोट हाल्ने बताए। यो भनेको १७ प्रतिशत हो।

‘मूढा’ चिह्न लिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिम चौथो स्थानमा छन्। हामीले भेटेकामध्ये १२० जनाले अर्थात् ११ प्रतिशतले उनलाई भोट हाल्ने बताए।

एमाले, कांग्रेस, रास्वपा र मूढाबाहेक अन्य उम्मेदवारको उपस्थिति नगन्य मात्र छ।

हामीले भेटेका १०९६ मतदातामध्ये जम्मा ७ जनाले राप्रपाका लक्ष्मी गुरूङलाई भोट हाल्ने बताए। यसबाहेक मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूलाई ६ जनाले, एकीकृत समाजवादीका जीतबहादुर राईलाई ३ जनाले, राप्रपा नेपालका गणेशबहादुर चौहान र ‘डोजर’ चिह्न भएका स्वतन्त्र उम्मेदवार अर्जुनबहादुर शाहीलाई एक–एक जनाले भोट हाल्ने बताए।

निर्वाचन विश्लेषणका हाम्रा पछिल्ला अनुभवका आधारमा भन्दा पहिलो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका एमाले र कांग्रेसबीच बलियो टक्कर रहेको मान्नुपर्छ। एमालेका सुहाङ ५ प्रतिशत मतले अगाडि देखिन्छन्। यो धेरै फराकिलो अन्तर होइन। सुहाङको मत २–३ प्रतिशत खस्कियो र डम्बरको मत २–३ प्रतिशत उक्सियो भने उनीहरूबीच चर्को प्रतिस्पर्धा हुन सक्छ। यस्तो अवस्थामा मतपरिणाम जे पनि आउन सक्छ। अर्कातिर, सुहाङको मत २–३ प्रतिशत उक्सियो र डम्बरको मत २–३ प्रतिशत खस्कियो भने सुहाङलाई जित्न सजिलो पर्छ।

त्यसैले यति कसिलो प्रतिस्पर्धामा कुनै एक उम्मेदवारले सजिलै जित्छ भन्न कठिन हुन्छ।

अब हामी २०७९ मंसिरको आमनिर्वाचनसँग तुलना गर्दा इलाम–२ मा यसपालि दुई मुख्य दल एमाले र कांग्रेसले आफ्नो पुरानो मत कति आफूसँगै राख्छन् र कति मत उनीहरूबाट नयाँ दल र उम्मेदवारतिर चुहिन्छ भन्ने हेरौं। यसले कसको मत कतातिर सर्दैछ भन्ने देखाउनेछ।

हामीले भेटेका १०९६ मतदातामध्ये ५५८ जनाले अघिल्लो चुनावमा एमालेका सुवास नेम्वाङलाई भोट हालेको बताएका थिए भने कांग्रेसका डम्बर खड्कालाई भोट दिएको भन्नेहरू ४४९ जना थिए।

यी मतदाताको भोट कहाँ–कहाँ जाँदैछ भनेर विश्लेषण गर्दा हामीले के पायौं भने अघिल्लोचोटि एमाले र कांग्रेसलाई भोट दिएको बताउने मतदातामध्ये अधिकांशले यसपालि पनि पुरानै पार्टीका उम्मेदवारलाई भोट हाल्छु भनेका छन्।

अघिल्लोचोटि एमालेलाई भोट दिएको बताउने ५५८ जनामध्ये ३३६ ले यसपालि फेरि एमालेलाई भोट दिने बताए। यो भनेको ६० प्रतिशत हो।

यी ३३६ मतदाताबाहेक ५ जना नयाँ मतदाता, अघिल्लोपटक कांग्रेसलाई मत दिएका २२ जना (२०७९ को चुनावमा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पनि कांग्रेसको गठबन्धनमा थिए), मंगोल नेसनल अर्गनाइजेसन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १–१ जना गरेर ३६५ जनाले एमालेलाई भोट दिने बताएका हुन्।

त्यस्तै, अघिल्लोचोटि कांग्रेसलाई भोट दिएको बताउने ४४९ जनामध्ये २८२ जनाले यसपालि पनि कांग्रेसलाई नै भोट दिने बताए। यो ६२ प्रतिशत हो।

यी २८२ सहित नयाँ मतदाता ८ जना, एमालेलाई मत दिएका १२ जना र राष्ट्रिय जनमुक्ति पार्टी र मंगोल नेसनल अर्गनाइजेसनका १–१ जना गरेर ३०४ जनाले कांग्रेसलाई भोट दिने बताएका हुन्।

यस आधारमा हामी के भन्न सक्छौं भने एमाले र कांग्रेसले लगभग उही दरमा अर्थात् ६० प्रतिशत हाराहारीमा आफ्ना पुराना मतदाता जोगाएका छन्।

पुरानो मत जोगाउनेमा रास्वपा पनि पर्छ। हामीले अघिल्लो चुनावमा रास्वपालाई भोट हालेका ११ जना मतदाता भेटेका थियौं। तीमध्ये ९ जनाले यसपालि रास्वपालाई नै भोट हाल्ने बताए।

अब हामी एमाले र कांग्रेसबाट चुहिएर जाने मतबाट को–को कुन अनुपातमा लाभान्वित हुन्छन्, त्यो हेरौं।

हाम्रो स्थलगत भ्रमण र हामीले भेटेका मतदातासँगको कुराकानीका आधारमा एमाले र कांग्रेस दुवै दलको सबभन्दा बढी भोट रास्वपाले काट्नेछ। त्यसपछि भोट काट्नेमा मूढा चिह्न भएका स्वतन्त्र उम्मेदवार पर्छन्।

खासगरी इलाम र देउमाई नगरपालिकाका बजार क्षेत्रमा रास्वापाले भोट काट्ने अनुपात बढी छ। चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिका र माई नगरपालिकामा भने रास्वपाको प्रभाव कम देखिन्छ। चुलाचुली, माङसेबुङ र फाकफोकथुममा एमाले–कांग्रेस दुवैको बढी भोट काट्ने मूढा हो।

एमालेका ५५८ पुराना मतमध्ये अन्यत्र चुहिने २२२ मतको ठूलो हिस्सा अर्थात् ९८ मत राष्ट्रिय स्वतन्त्र पार्टीले लैजानेछ। यसबाट रास्वपाले सबभन्दा बढी भोट एमालेको काट्ने देखिन्छ। त्यस्तै, मूढा चिह्नका स्वतन्त्र उम्मेदवारले पनि एमालेको पुरानो ६३ मत काट्नेछ।

कांग्रेसको कुरा गर्दा पुराना ४४९ मतमध्ये चुहिएर अन्यत्र जाने १६७ मतको ठूलो हिस्सा अर्थात् ६३ मत रास्वपाले काट्नेछ। त्यस्तै, मूढा चिह्नले कांग्रेसको २८ भोट काट्नेछ।

हामीले भेटेका मतदातामध्ये रास्वपालाई भोट हाल्छु भन्नेहरूमा युवा मतदाताको अनुपात बढी छ। पहिलोपटक भोट हाल्नेहरू धेरैले रास्वपालाई छानेका छन्। हामीले भेटेकामध्ये पहिलोपटक भोट हाल्न लागेका १५ जनाले रास्वपाको पक्षमा मत जाहेर गरे। मूढाको पक्षमा यो संख्या १४ छ। जबकि, एमालेलाई भोट दिन्छु भन्नेमा पहिलोपटक मतदान गर्न लागेका जम्मा ५ जना मतदाता थिए भने कांग्रेसतर्फ ८ जना थिए।

‘मेरो नाम यसपालि बल्ल मतदाता सूचीमा आयो। म घन्टीलाई भोट दिन्छु’ इलाम नगरपालिका–९ का एक युवा मतदाताले भने, ‘पुराना पार्टी र बूढा नेताले केही गरेनन्, नयाँले गर्छन् कि, हेरौं !’

मूढालाई भोट हाल्छु भन्नेहरू चाहिँ बढीजसो पहिचानवादी छन्। एमाले र कांग्रेसले पहिचानको मुद्दा नउठाएको र कोशी प्रदेश नामाकरण गर्दा पहिचानलाई बेवास्ता गरेको भन्दै उनीहरूले मूढा चिह्नमा भोट हाल्ने बताए।

‘मैले अहिलेसम्म एमालेलाई भोट दिँदै आएको थिएँ। यसपालि मूढामा दिन्छु। पहिचानको मुद्दामा एमालेले हामीलाई धोका दियो’ माङसेबुङ गाउँपालिका–५ का एक मतदाताले भने।

इलाम २ मा यसपालि चर्चामा आएका रास्वपा र मूढा चिह्नका स्वतन्त्र उम्मेदवारले कहाँ–कहाँबाट मत बटुल्छन्, एकचोटि हेरौं।

हामीले भेटेकामध्ये अघिल्लोपटक एमालेलाई भोट दिएका ९८ जना, कांग्रेसलाई दिएका ६३, नयाँ मतदाता १५, अघिल्लोपटक रास्वपालाई नै दिएका ९ र अन्य १ जनासहित १८६ मतदाता (१७ प्रतिशत)ले रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई भोट दिने बताएका छन्।

त्यस्तै, हामीले भेटेकामध्ये अघिल्लोपटक एमालेलाई भोट दिएका ६३ जना, कांग्रेसलाई भोट दिएका २८, नयाँ मतदाता १४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ५, राष्ट्रिय जनमुक्ति पार्टी ५, जनता समाजवादी पार्टी ३ र अन्य २ जनाले मूढा चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई भोट दिने बताएका छन्।

इलाम–२ को उपनिर्वाचनमा बदलिएको गठबन्धनले पनि ठूलो प्रभाव पार्नेछ।

मंसिरको आमनिर्वाचनमा यहाँ सुवास नेम्वाङले झिनो मतान्तरमा नेपाली कांग्रेसका डम्बर खड्कालाई पराजित गरेका थिए। कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत दलहरूको मोर्चाबन्दीका बाबजुद उनी ११४ मतान्तरले नेम्वाङभन्दा पछाडि परे। नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर निर्वाचित हुँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए।

खड्कालाई त्यस बेला माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ थियो। यसपटक माओवादीले एमाले उम्मेदवार सुहाङलाई सहयोग गर्दैछ। एकीकृत समाजवादीले पनि जीतबहादुर राईलाई उम्मेदवार बनाएको छ। केही समयअघि मात्रै माओवादी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका मिलन लिम्बूलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको रास्वपाले २०७९ को निर्वाचनमा इलाम–२ मा जमानत जोगाउन सकेको थिएन। त्यस बेला रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले १ हजार ३८० मत ल्याएका थिए।

त्यति बेला समानुपातिकतर्फ २६ हजार ५६२ मतसहित एमाले पहिलो दल थियो। कांग्रेसले २२ हजार ३३ मत ल्यायो। माओवादी केन्द्रले ५ हजार १५३ मत प्राप्त गर्दा रास्वपाले ४ हजार ६८६ मत ल्याएको थियो। माओवादीको यो समानुपातिक मतको ठूलो हिस्सा नयाँ गठबन्धनका कारण सुहाङतिर जानेछ, जुन कांग्रेसको निम्ति घाटाको कुरा हो।

हामीले भेटेका मतदातामध्ये अघिल्लोचोटि गठबन्धनका कारण कांग्रेसलाई भोट हालेको बताउने आधाभन्दा बढी माओवादी समर्थकले यसपालि सुहाङलाई भोट दिने बताए। उनीहरूको केही भोट स्वतन्त्र पार्टी र मूढा चिह्नमा पनि बाँडिनेछ। यसले कांग्रेसलाई केही फाइदा पुग्नेछ। तर एमालेले पुराना मतदाता धेरै जोगाएर राखेकाले अहिलेसम्म सुहाङको स्थिति डम्बरको भन्दा मजबुत नै देखिन्छ।

डम्बरले पनि आफ्ना पुराना मतदाता धेरै जोगाएका छन्। त्यसैले यसपालि विजय हात पार्न उनले अघिल्लोचोटि गठबन्धनका कारण आफूलाई भोट हालेका माओवादी मतदातालाई फेरि आफूतिर आकर्षित गर्नुपर्ने छ। यो उनको निम्ति निकै चुनौतीपूर्ण हो।

एक वर्षअघि तनहुँ–१ को उपनिर्वाचनमा कांग्रेसलाई हराएर राम्रो परिणाम देखाएको रास्वपालाई यहाँ पनि त्यस्तै नतिजा ल्याउन कांग्रेस र एमालेका पुराना मतदाता ठूलो संख्यामा आफूतिर तान्नुपर्ने हुन्छ। उसले अहिलेसम्म सहरी इलाकामा आफ्नो प्रभाव छाडेको छ, तर विजयी नै हुने गरी लहर ल्याउन सकेको छैन। एमाले र कांग्रेस दुवैको भोट काटेको छ, तर उनीहरूलाई उछिनेर विजयी हुने अवस्था बनाएको छैन। मूढा चिह्नका स्वतन्त्र उम्मेदवारको अवस्था पनि यस्तै छ। हाम्रो स्थलगत भ्रमण र मतदाताहरूसँगको कुराकानीले यस्तै स्थिति देखाउँछ।

कांग्रेस र एमालेका मतदातामा अहिलेसम्म कसलाई भोट हाल्छु भनेर टुंगोमा पुग्न नसकेकाहरू पनि धेरै छन्।

हामीले कुराकानी गरेका १०९६ मतदातामध्ये १०३ जनाले अहिलेसम्म कसलाई भोट हाल्ने निधो नगरेको बताए। यो भनेको ९ प्रतिशत हो। यी अनिर्णितमध्ये धेरैजसो पहिलेका कांग्रेस र एमाले मतदाता छन्। सबभन्दा ठूलो हिस्सा कांग्रेसको छ।

हामीले कुराकानी गरेकामध्ये ५० जना पुराना कांग्रेसी मतदाताले यसपालि कसलाई भोट हाल्ने टुंगो नभएको बताए। त्यस्तै, पहिले एमालेलाई भोट हालेका ४५ जनाले अहिलेसम्म भोटको टुंगो लगाउन सकेका छैनन्। बाँकी अनिर्णित मतदातामध्ये ६ जना पहिलोचोटि भोट हाल्न लागेका छन् भने अघिल्लोचोटि रास्वपा र राप्रपालाई भोट हालेका एक–एक जना पनि अनिर्णित छन्।

यी अनिर्णित मतदाता आफूले पहिलेदेखि भोट हालेको कांग्रेस र एमालेलाई रोज्ने कि रास्वपा र मूढातिर जाने भन्ने दोधारमा छन्। केहीले रास्वपा वा मूढामध्ये कुनै एकलाई भोट हाल्ने संकेत दिए पनि दुईमध्ये कसलाई छान्ने निधो नगरेको बताए। वैशाख १५ गते निर्वाचनको दिन बुथमा छिरेपछि ‘आत्माले जे भन्छ’ त्यही गर्ने उनीहरूको भनाइ छ।

‘हामी नयाँ उम्मेदवारलाई भोट हाल्न त चाहन्छौं, तर आफूले सुरूदेखि रोजेको पार्टी छाड्ने कि नछाड्ने भन्नेमा ओमन–दोमन भइरहेको छ’ हाम्रो कुराकानी क्रममा एक मतदाताले भने, ‘वैशाख १५ गते बुथमा छिरेपछि आत्माले जे भन्छ, त्यसैमा ठप्पा लगाउने हो।’

यसबाट के देखिन्छ भने अहिलेसम्म अनिर्णित १०३ जना मतदाता जम्मैले रास्वपा वा मूढालाई भोट हाल्ने सम्भावना छैन। केही भोट पुरानै दलमा फर्किन सक्छ। यो अवस्थामा अहिले अनिर्णित रहेका मतदाता कति अनुपातमा पुरानै दलमा फर्किने छन् भन्नेले सुहाङ र डम्बरको भविष्य निर्धारण गर्नेछ।

उनीहरूले अनिर्णित मतदातालाई जति धेरै आफ्नो पक्षमा लिन सके, उनीहरूको पक्ष बलियो हुने छ। तर यी सबै भोट चुहिएर रास्वपा वा मूढातिरै गए भने पनि कांग्रेस र एमालेलाई उछिन्ने अवस्था देखिँदैन। रास्वपा र मूढाले यी अनिर्णित मतदाताबाट आफ्नो मत प्रतिशत केही बढाउन भने सक्छन्।

अब हामी इलाम–२ का ४२ वटै वडाका मतदातासँग गरिएको कुराकानीका आधारमा एमालेका सुहाङ नेम्वाङ र कांग्रेसका डम्बर खड्काका केही बलिया र केही कमजोर पक्षबारे चर्चा गरौं।

सुहाङको सबभन्दा बलियो पक्ष उनका बुबा सुवास नेम्वाङको राजनीतिक विरासत हो।

२०५६ देखि इलाम–२ मा अनवरत चुनाव जित्दै आएका सुवासले यो क्षेत्रमा आफ्नो मजबुत पकड बनाएका थिए। उनको निधनलगत्तै चुनाव हुन लागेकाले सहानुभूतिको मत सुहाङतिर जान सक्छ।

‘पहिले सुवास नेम्वाङ चुनाव उठ्छु भन्दै आउँदा मैले दुबोको माला लगाएर स्वागत गरेको थिएँ। मैले माला लगाएपछि उहाँले लगातार चुनाव जित्नुभयो’ माङसेबुङ गाउँपालिका–३ दोभानकी सुकमति नेम्वाङले भनिन्, ‘अहिले उहाँकै छोरा आउनुभएको छ। उहाँलाई पनि दुबोको माला लगाएर सधैं जितिरहोस् भनेर आशीर्वाद दिन मन थियो, तर माला लगाउन पाइनँ। आशीर्वाद भने दिएको छु।’

बुबाको राजनीतिक विरासतले सुहाङलाई फाइदा सँगसँगै घाटा पनि देखिँदैछ।

हामीले भेटेका पुराना एमाले मतदातामध्ये केहीले ‘पार्टीमा योग्य उम्मेदवार अरू कोही नभएझैं सुवासकै छोरालाई उठाएकोु भन्दै असन्तुष्टि व्यक्त गरे। बाबुको ठाउँमा छोरा उठाउनुलाई उनीहरूले शाहवंशीय निरन्तरता’ भनेका छन्।

‘राजाको छोरा राजा भएझैं सुवासको छोरा सुहाङ नै चुनाव उठ्नुपर्ने हो र !’ एक पुराना एमाले मतदाताले भने।

‘अहिलेसम्म एमालेलाई नै भोट दिएको हो, तर यसपालि नेम्वाङकै छोरालाई टिकट दिएको चित्त बुझेन’ फाकफोकथुम गाउँपालिका–३ का एक मतदाताले भने, ‘यो त शाहवंशीय निरन्तरताजस्तै भयो। राजा मरेपछि उनका छोरा राजा बनेजस्तै भयो। त्यसैले यसपालि नयाँलाई भोट हाल्छु। घन्टी र मूढामध्ये कुनै एकलाई दिन्छु।’

सुहाङको बलियो पक्ष उनको युवा उमेर र कानुन अध्ययन पनि हो।

पछिल्लो समय युवा र पढेलेखेका उम्मेदवार छान्नुपर्छ भन्ने जुन लहर छ, त्यसमा सुहाङको पल्ला भारी देखिन्छ। अन्य ठाउँमा पुराना नेताको सट्टा युवा उम्मेदवार छान्ने भन्दै मतदाताहरू रास्वपातिर लागेका थिए। यही लहरले तनहुँ–१ को उपनिर्वाचनमा स्वर्णिम वाग्लेलाई विजयी बनायो। इलाम–२ मा भने रास्वपालाई भोट हाल्ने मन बनाएर बसेकाहरूलाई पनि सुहाङको उम्मेदवारीले दोमनमा पारिदिएको छ। दलगत आबद्धता नहेरी युवा र योग्यलाई भोट हाल्न चाहनेहरूलाई सुहाङले आकर्षित गरेको पाइन्छ।

‘एमालेले राम्रो उम्मेदवार उठाएको छ। संसद भनेको कानुन बनाउने थलो हो। यसको निम्ति कानुन नै पढेका सुहाङभन्दा बलियो उम्मेदवार अरू को हुन्छ !’ देउमाई नगरपालिका–९ नवमी बजारमा भेटिएका एक मतदाताले भने।

‘सुवास नेम्वाङमाथि कहिल्यै भ्रष्टाचारको दाग लागेन। संविधान बनाउन महत्त्वपूर्ण भूमिका खेले। शक्ति दुरूपयोग कहिल्यै गरेनन्’ उनले अगाडि भने, ‘पछिल्लो समय ठुल्ठूला नेताका छोराहरू सुन तस्करीमा फसेका छन्। यिनले बाबुले सुरू गरेका अलपत्र काम पूरा गर्छु भनेका छन्। यिनलाई मौका दिनुपर्छ।’

सुहाङको सबभन्दा कमजोर पक्ष इलाम–२ विकास निर्माणमा पछि पर्नु हो। यो ठाउँ इलामकै अर्को निर्वाचन क्षेत्रको दाँजोमा पिछाडिएको छ। चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा त अहिलेसम्म पक्की सडक छैन। धेरै गाउँ दुर्गम छन्। त्यसैले यो क्षेत्रलाई ‘इलामकै कर्णाली’ भनिन्छ।

कतिपय मतदाताले सुहाङले इलामको भूगोल नबुझेको, पार्टी र संगठनमा काम नगरेको भनेर आलोचना पनि गरेका छन्। अस्ट्रेलियामा पढेर गाउँठाउँको अवस्था बुझ्दै नबुझी चुनाव उठ्न आएको भन्दै पार्टीका असन्तुष्ट पुराना मतदाता उनको जितमा चुनौती बन्ने देखिन्छन्।

कांग्रेसका डम्बर खड्का भने निरन्तर जिल्लामै बसेर काम गरिरहेको भन्दै केही मतदाताले यी दुवैको स्थानीयताको तुलना गरेका थिए।

यही स्थानीयताका कारण केही पुराना एमाले मतदाताले यसपालि डम्बरलाई भोट दिन लागेको हामीले पायौं। हामीले भेटेका पुराना एमाले मतदातामध्ये १२ जनाले यसपालि डम्बरलाई भोट हाल्ने बताए।

जबकि, अघिल्लोचोटि कांग्रेसलाई भोट हालेर यसपालि एमाले रोज्नेमा गठबन्धनको प्रभाव बढी देखिन्छ।

डम्बरले कोरोनाकालमा स्थानीय स्तरमा गरेको सहयोगका कारण कांग्रेसी मतदातामाझ प्रभाव छाडेको पाइन्छ। उम्मेदवारीलाई लिएर पार्टीभित्र परेको कचमचले कतिपय कांग्रेसी मतदाता बिच्किएका पनि छन्। तर दोस्रोचोटि उठ्दा पनि जितेनन् भने अर्कोचोटि टिकट नपाउने र अहिलेसम्म सुवास नेम्वाङले जितिरहेको ठाउँमा सुहाङको उदय हुने देखेर कांग्रेसीहरूले जितको निम्ति जोडबल गरेको पाइन्छ।

‘डम्बर खड्काले कोरोनाकालमा जनतालाई धेरै हेरेका थिए। अर्कोचोटि त टिकट पनि पाउँदैनन् होला’ इलाम नगरपालिका–१२ का एक मतदाताले भने ‘यसपालि जितेनन् भने उनको राजनीति सकिन्छ। त्यसैले एकचोटि कोसिस गरौं। राम्रो काम गरेनन् भने अर्कोचोटि मत फेरौंला।’

इलाम–२ को उपनिर्वाचनमा पहिचानको मुद्दाले पनि ठूलो प्रभाव पार्नेछ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जसपा लगायतका दलहरूले पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमलाई समर्थन गरेका छन्। उनलाई कोशी नामाकरणविरूद्ध चलेको आन्दोलनको लाभ हुने देखिन्छ। २०७९ फागुन १७ मा तत्कालीन प्रदेश १ को प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि आफूलाई ‘पहिचानवादी’ दाबी गर्ने समूहहरू लामो समयपछि एकै ठाउँ उभिएका थिए।

यो मुद्दाले खासगरी एमालेलाई घाटा पारेको छ। प्रदेशको नाम कोशी राख्नुपर्छ भन्ने प्रस्तावको मुख्य प्रस्तावक एमालेसँग इलाम–२ का आदिवासी–जनजाति मतको एउटा हिस्सा बिच्किएको देखिन्छ।

‘एमालेले प्रदेशको नाम राख्दा पहिचानवादीको मन दुखाएको छ,’ माङसेबुङ गाउँपालिका–४ का एक मतदाताले भने, ‘यसपटक पहिचानवादीलाई मौका दिने हो।’

हामीले चुलाचुली गाउँपालिका–१ मा भेटेका जीवन लिम्बूले आफू माओवादी समर्थक भए पनि पहिचानको मुद्दा उठाएका थेगिमलाई ‘मूढा’ चिह्नमा भोट हाल्ने बताए।

शिक्षक पृष्ठभूमिका थेगिमलाई ‘पहिचानवादी’ आन्दोलनको नेतृत्व गरेको जस मतदाताको एउटा तप्काले दिइरहेको भेटियो। खासगरी पहिले माओवादी आन्दोलनमा सहभागी भएका र ुपहिचानु का आधारमा प्रदेश नामाकरण गर्नुपर्ने मान्यता राख्नेहरूमाझ उनले आफ्नो प्रभाव छाडेका छन्। गैरजनजाति मतदाता भने उनीप्रति त्यति उदार रहेको हामीले पाएनौं।

‘पहिचानको मुद्दा उठाउनेहरूसित हाम्रो विचार थोरै मिल्छ,’ आफूलाई विप्लव माओवादीका कार्यकर्ता बताउने एक मतदाताले भने, ‘उहाँहरू एकदमै जातिवादी बन्नुभएको हाम्रो बुझाइ छ।’

थेगिम माङसेबुङका धार्मिक गुरू आत्मनन्द लिङ्देनको अनुयायी हुनुले पनि फाइदा पुर्‍याउने देखिन्छ।

रास्वपाको कुरा गर्ने हो भने यो पार्टीलाई रवि लामिछानेको लोकप्रियताले फाइदा पनि पुर्‍याएको छ, सँगसँगै उनको सहकारी विवादले घाटा पनि पारेको छ।

हामीले भेटेका केही मतदाताले रविकै कारण रास्वपामा भोट हाल्न लागेको बताएका थिए भने केहीले सहकारी विवादमा मुछिएपछि उनीप्रति विश्वास भंग भएको टिप्पणी गरेका थिए। यस्ता कतिपय मतदाताले आफू भोट नै नहाल्ने पनि बताएका छन्।

‘मैले पहिले कांग्रेसलाई भोट दिने गरेको थिएँ। यसपालि परिवर्तन गरौं भन्ने सोचेको, तर नयाँ भन्नेहरू सहकारी काण्डमा मुछिएका छन्। विवादमा परेका छन्। त्यसैले यसपालि भोट नै दिन्नँ, इलाम नगरपालिका–४ का एक मतदाताले भने, ‘मेरो नो भोट।’

हाम्रो स्थलगत भ्रमणका आधारमा एमाले र कांग्रेस दुवैलाई संसदको अवधि साढे तीन वर्ष मात्र बाँकी हुनुले पनि केही फाइदा पुर्‍याउने देखिन्छ।

हामीले भेटेका कतिपय मतदाताले पुरानो पार्टी बदल्ने चाहना भए पनि संसदको बाँकी अवधिका लागि नयाँलाई भोट नहाल्ने बताए। अहिले जित्ने उम्मेदवारले कस्तो काम गर्छन् हेरेर आवश्यक परे २०८४ मा मत बदल्ने उनीहरूको भनाइ थियो।

सम्बन्धित खबर