२०८१ मंसिर १२, बुधवार , ०८:३२:४१ बजे

Sajhamanch
'

लकडाउनः उपभोक्ताको बेहाल, वन तस्करलाई मालामाल

आइतवार, वैशाख ७, २०७७

झापा । लकडाउन अवधिको सुनसान समयको फाइदा उठाउँदै वन तस्करहरूले हिजोआज वन विनास र वन्यजन्तु तस्करीलाई तीब्रता दिएका छन् । प्रहरी प्रशासनको ध्यान कोभिड–१९ को संक्रमण फैलिन नदिनतर्फ मोडिएको मौका छोपेर तस्करहरु सक्रिया हुन थालेका हुन् ।

वन उपभोक्ता लकडाउनको पालना गर्दै घरभित्रै छन् । अत्यावश्यक काम बाहेक कसैलाई पनि घर बाहिर ननिस्कन सरकारले गरेको आह्वान अधिकांश सचेत नागरिकले पालना गरिरहेका छन् । तर, यहीबेला झापाका अधिकांश वन जङ्गल क्षेत्रमा पसेर तस्कर समूहले रूख काट्ने र वन्यजन्तुको चोरी शिकारी गर्ने गतिविधि बढाउँदै गएको पाइएको हो ।

लकडाउनका अवस्थामा सुरक्षा संयन्त्रको सम्पूर्ण ध्यान कोभिड–१९ फैलिन नदिनेतर्फ केन्द्रित भएको बेला पेशेवर वन तस्कर र शिकारीले अवसर छोप्न थालेको सामुदायिक वनका पदाधिकारहरू बताउँछन् । ‘कसरी कोरोना फैलिन नदिने भनेर रोकथामका लागि समाजका सबैपक्ष लागिरहेका छौँ’ चन्द्रगढी वन समूहका सदस्य लोकबहादुर कुँवरले भने, ‘वन तस्करहरू भने सुनसान अवस्थालाई मौका बनाएर जङ्गलतिर पस्न थालेका छन् । यस अवस्थामा समूहले पालो लगाएर वन गस्ती गराइरहे पनि विरूवा मास्नेक्रम रोक्न नसकिएको अवस्था छ ।’

यो समस्या सरकारको प्रत्यक्ष नियन्त्रणमा रहेको सरकारी वन र समुदायको संरक्षणमा रहेको सामुदायिक वन दुवैतिर बढ्दो मात्रामा छ । शिकारीहरुले वन क्षेत्रमा प्रवेश गरेर डढेलो लगाउने र वन्यजन्तु मार्ने गरेको हुँदा समुदायले बन्दाबन्दीको बेलासमेत गस्ती बढाउनुपरेको सामुदायिक वनहरूले जनाएका छन् । दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्दै आएका मजदूरले समेत कामविहीन भएपछि वन क्षेत्रमा वन्यजन्तुको शिकार गर्न थालेका जनाइएको छ ।

झापाको वनमा बँदेल, हरिण, दुम्सी, मृग, खरायो, मयुर, लुइँचेलगायतका जीवजन्तु छन् । यी जनावर तथा पंक्षी मार्नेहरू रातदिन जुनसुकै मौका छोपिरहेका छन् । लकडाउनसँगै चोरी शिकारीबाट वनका जनावर जोगाउन नसकिने अवस्था आइसकेको स्थानीयको भनाई छ । उनीहरूका अनुसार पटकपटक वनमा डढेलो लगाइसकेका छन् । यस अवस्था नियन्त्रण नहुने हो भने लकडाउनको अवधिभरमा वन्यजन्तु सकिने छन् भने रूख कटान पनि तीब्र बन्दा वन विनास नियन्त्रण बाहिर जानेछ ।

तस्कर र शिकारीहरू सक्रिय भएको पाइएपछि झापाका अधिकांश सामुदायिक वनले वन्यजन्तुको शिकार, काठ चोरी, तस्करी र आगलागीबाट जोगाउन सामुहिक गस्ती गर्न थालेका छन् । लकडाउनका बेला अवसर छोप्नेहरुलाई कारवाही गर्न सरकारले नयाँ कार्ययोजना अघि सार्नुपर्ने वन संरक्षणकर्ताहरूको माग छ । उनीहरू भन्छन् ‘लकडाउनका बेला वन जोगाउन वनका कर्मचारी र पदाधिकारीहरूलाई मुस्किल परिरहेको छ, आम उपभोक्ताको साथ र सहयोग अति आवश्यक बनिसकेको छ ।’

झापामा ५९ वटा सामुदायिक र तीनवटा कबुलियती वन छन् । सबै वनको साझा समस्या नै चोरी तस्करी र आगलागी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । वन क्षेत्रमा तस्करी र शिकारी बढेको जानकारी पाएपछि कार्यालयले एकहप्ता अघि नै लकडाउनका बेला वन क्षेत्रमा सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाइएको सार्वजनिक सूचना जारी गरेको छ ।

लकडाउन अवधिभर जिल्लाका सामुदायिक, कबुलियती वनमा अत्यावश्यक संरक्षण बाहेकका अन्य सबै कार्यहरू वन ऐन, २०७६ को दफा ९ बमोजिम बन्देज लगाइएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । उनले अनाधिकृत रूपमा वन क्षेत्रमा प्रवेश गरेमा कडा कारवाही गरिने बताए । तर चोर, तस्करहरू रातको समयलाई अनुकुल बनाएर वन पैदावार मास्ने कार्यमा सकृय हुन छोडेका छैनन् । वन्य जन्तु शिकारी दिनमै सकृय भए पनि काठ तस्करहरु रातमा बढी सकृय हुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

सम्बन्धित खबर