२०८१ मंसिर १०, सोमवार , ०३:४४:५० बजे

Sajhamanch
'

बिर्तामोडमा ३५ हजार विपन्न ! नगरपालिकाबाट ६३ लाख ७२ हजार रुपैयाँको खाद्य सामग्री बाडिँदै

सोमवार, चैत २४, २०७६

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँबाट स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा विभिन्न व्यवसायिक संस्था तथा व्यक्तिहरुबाट थप १८ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ ।

यो समाचार तयार पार्दासम्म कोषमा ६८ लाख ३८ हजार जम्मा भएको छ भने १३ लाख रुपैयाँ हाराहारीको प्रतिवद्धता प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले बताएका छन् । प्रतिवद्धता गर्ने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहित जनप्रतिनिधिहरु एवम् वरिष्ठ कर्मचारीहरु भएकाले यही चैत महिनाको पे–रोलबाट कट्टा गरी सिधै कोषमा जम्मा गर्ने व्यवस्था मिलाइने पनि खतिवडाले जनाएका छन् ।

सहयोग दाताहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगरकमिटीले सबैभन्दा धेरै चार लाख रुपैयाँ बराबरको एक सय क्वीन्टल चामल उपलब्ध गराएको नगरप्रमुख ध्रुबकुमार शिवाकोटीको फेसबुक टाइमलाइनमा उल्लेखित विवरणमा देखिन्छ । सहयोगदाताहरु मध्ये रोटरी क्लब अफ बिर्तामोडबाट एक लाख एक हजार, च्याम्बर अफ कमर्स झापाबाट ५१ हजार, राजकुमार पोखरेलबाट ५१ हजार, कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीबाट ५१ हजार, सद्गुरु श्री देवचन्द्र सदन अर्जुनधाराबाट ५१ हजार रुपैयाँ नगद संकलन भएको छ विवरणमा उल्लेख ।

यसरी नै कर्णाली साकोस, सिम्रिक साकोसबाट एक–एक लाख रुपैयाँसहित १८ वटा सहकारी संस्थाहरुको तर्फबाट हालसम्म ७ लाख १३ हजार रुपैयाँ जम्मा भइसकेको जनाइएको छ । यसैगरी कोहेड कलेजसहित ७ वटा शिक्षण संस्थाहरुबाट पनि तीन लाख ३० हजार रुपैयाँ जम्मा भएको छ ।

यसैबीच बिर्तामोड नगरपालिकाले आजदेखि नगरभित्रका विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने ६ हजार ९०० परिवारका लागि खाद्यान्न वितरण गर्न थालेको छ । नगरप्रमुख शिवाकोटीका अनुसार ती परिवारमा आश्रित ३५ हजार जनसंख्याका लागि एक लाख ४० हजार केजी चामल वितरण सुरु गरिएको हो ।

कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष सञ्चालन कार्यविधि २०७६ को दफा ८ अनुसार टोल विकास समिति हुँदै वडाबाट सिफरिस भइआएका सबै विपन्न परिवारलाई राहत प्रदान गरिने चैत २३ गतेको बैठकले निर्णय गरेको हो । सो निर्णयानुसार प्रतिव्यक्ति ४ केजी र प्रतिपरिवार अधिकतम ३० केजी चामल तथा दाल र नून अधिकतम् १–१ केजी वितरण गर्ने व्यवस्था मिलाइएको छ । नगरप्रमुख शिवाकोटीका अनुसार पहिलो चरणमा ६३ लाख ७२ हजार रुपैयाँ बराबरको खाद्य सामग्री जुटाएर उल्लेखित परिवारलाई वितरण थालिएको हो ।

सम्बन्धित खबर