२०८३ जेठ १९ मङ्गलवार , १२:५५:१९ बजे

Sajhamanch
'

लिखत किर्ते कसुरमा वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

मङ्गलवार, जेठ १९, २०८३

पर्सा । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पक्राउ परेका छन् । उनी पर्साको ठोरीबाट पक्राउ परेको मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाले जानकारी दिए ।

पर्सा प्रहरीको विशेष टोलीले आज बिहान ६–७ बजे मेयर सिंहलाई ठोरी गाउँपालिका–३ ठोरी रिसोर्टबाट पक्राउ गर्न सफल भएको हो ।

पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै उनी फरार भएका थिए ।

८ जेठमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीसहित अन्य तीन जनाविरुद्ध स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए ।

मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको जाहेरी परेको थियो । सोही आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

रिसोर्टबाट समातिएका सिंहमाथि अब लिखतसम्बन्धी कसुरमा पर्सा प्रहरीबाटै अनुसन्धान हुने बताइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी राजु कार्कीका अनुसार ५६ वर्षीय सिंहमाथि नागरिकता सम्बन्धी लिखत कसुरमा अनुसन्धान हुनेछ ।

पर्सा प्रहरीले नगरप्रमुख सिंहलाई पक्राउ गर्न डीएसपी हरि बस्नेतको कमाण्डमा टोली गठन गरेको थियो । तर, करिब एक सातासम्म सिंह फरार नै रहे । सोमबार मात्रै प्रहरीले सिंहका पीएसँग सोधपुछ गरेको थियो ।

यसअघि प्रहरीले नगरप्रमुख सिंहको घरसमेत खानतलासी गरेको थियो । त्यसपछि बल्ल एक सातापछि प्रहरीले सिंहलाई नियन्त्रणमा लिन सफल भएको हो ।

‘हामीले घर खानतलासी गर्नेदेखि पीएलाई समेत केरकार भएपछि बल्ल मेयरलाई पक्राउ गर्न सफल भएका हौं’ ती प्रहरी अधिकारीले भने ।

यसैबीच पर्सा प्रहरीले नगरप्रमुख सिंहलाई अदालतमा हाजिर गराएको छ । लिखत सम्बन्धी कसुरमा पक्राउ परेका उनलाई प्रहरीले अदालत खुल्ने बित्तिकै हाजिर गराएको हो ।

केहीबेर अगाडि सिंहलाई अदालतमा हाजिर गराइएको जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकले जनाए ।

सम्बन्धित खबर