२०८३ जेठ १८ सोमवार , ०४:४८:०६ बजे

Sajhamanch
'

बजेट भाषणपछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घट्यो

सोमवार, जेठ १८, २०८३

काठमाडौं । बजेट भाषणपछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ७२ अङ्कले घटेर २ हजार ७५५ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज निर्जीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक ६ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २३३ वटा कम्पनीका शेयर घटेकामा ३५ वटाका बढेका छन् । नेपाल फाइनान्स र स्वस्तिक लघुवित्तको शेयर भने घटबढ भएको छैन ।

आज बुङ्गल हाइड्रोको शेयर १३ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल रिइन्सुरेन्स र कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार कम पनि घटेको छ । गएको बुधवार ६ अर्ब ३ करोडको कारोबार भएकोमा आज ३४९ वटा कम्पनीका १ करोड ३३ लाख कित्ता शेयर ५ अर्ब ६१ करोड रुपैयाँमा किनबेच भएको छ ।

सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर बढाएको थियो । अब १ वर्षभन्दा कम अवधिमा बेच्नेले लाभमा १० प्रतिशत र लगानी समयको १ वर्षपछि बेच्नेले लाभमा ७.५ प्रतिशत कर तिर्नुपर्छ । यसअघि यस्तो दर ५ देखि ७.५ सम्म मात्रै थियो ।

सम्बन्धित खबर