२०८३ जेठ १८ सोमवार , ०५:४२:५१ बजे

Sajhamanch
'

अस्थिर बने हिमालबाट उत्पन्न नदी, नेपाल र भारतमा ‘महासंकट’को चेतावनी

सोमवार, जेठ १८, २०८३

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा नदीहरूको स्वरूप र बग्ने दिशा ऐतिहासिक रूपमा तीव्र गतिमा परिवर्तन भइरहेको एक नयाँ अध्ययनले देखाएको छ ।

विश्वप्रसिद्ध विज्ञान जर्नल साइन्समा हालै प्रकाशित एक अनुसन्धान रिपोर्टअनुसार विगत चार दशकमा हिमालबाट उत्पन्न हुने नदीहरूले आफ्नो किनार काट्ने तथा मार्ग परिवर्तन गर्ने (ल्याटेरल माइग्रेसन) दर झण्डै दोब्बर भएको छ ।

चीनको ‘चाइना युनिभर्सिटी अफ जियोसाइन्सेज’ का प्रोफेसर चङसान वाङ र डा. जोङपेङ हानको नेतृत्वमा गरिएको अध्ययनबाट सो निष्कर्ष निकालिएको हो ।

अध्ययन रिपोर्टमा हिमालबाट उत्पत्ती हुने नदीहरु खतरनाक रुपले अस्थीर बन्दै आफ्नो बाटो बदलिरहेकाले नेपाल र भारतसहित दक्षिण एसियाका देशहरूमा जलविद्युत, खानेपानी, पूर्वाधार र मानव बस्तीमाथि ‘महासंकट’ निम्तिन सक्ने चेतावनी दिइएको छ ।

अनुसन्धान टोलीले सन् १९८० देखि २०२० सम्मका ४० वर्षको भूउपग्रह तस्बिर तथा स्थलगत अध्ययनको विश्लेषण गरेको थियो । अध्ययनका क्रममा सिन्धु, गंगा र ब्रह्मपुत्र नदी बेसिन अन्तर्गतका १ हजार ५८२ किलोमिटर नदीखण्ड तथा १ हजार ७९ वटा नदीका घुम्तीहरूको क्रमिक परिवर्तनको नक्साङ्कन गरिएको थियो । जलवायु परिवर्तन र नदीको परिवर्तनबीचको सम्बन्ध पुष्टि गर्न अनुसन्धानकर्ताहरूले ‘स्ट्रक्चरल इक्वेसन मोडलिङ’ विधि प्रयोग गरेका थिए ।

अध्ययनमा के पाइयो ?

अध्ययनले सन् १९८०–२००० को अवधिको तुलनामा सन् २०००–२०२० बीच नदीहरूले धार बदल्ने र किनार कटान गर्ने दर करिब १०० प्रतिशतले बढेको देखाएको छ । नदीले पुरानो धार छोडेर नयाँ मार्ग बनाउने ‘कटअफ फ्रिक्वेन्सी’ ११५ प्रतिशतले वृद्धि भएको छ भने अचानक नयाँ धार बनाएर बग्ने (अभल्सन) प्रक्रिया ७७ प्रतिशतले बढेको पाइएको छ । नदीहरू एक स्थानबाट अर्को स्थानमा सर्ने विशिष्ट समयावधि पनि ४० प्रतिशतले छोटिएको अध्ययनले देखाएको छ ।

अनुसन्धानले हिमालयका नदीहरूको चरित्र आर्कटिक क्षेत्रका नदीहरूभन्दा फरक र बढी जोखिमपूर्ण रहेको जनाएको छ ।

आर्कटिक क्षेत्रमा तापक्रम बढेपछि नदी किनारमा झाडी र वनस्पति बढेर माटो समात्ने भएकाले नदीको गति केही नियन्त्रणमा रहने गरेको पाइए पनि हिमालयको माथिल्लो क्षेत्रमा वनस्पतिको अभावका कारण नदी किनार जोगाउने प्राकृतिक संयन्त्र नरहेको अध्ययनको निष्कर्ष छ ।

यसले हिमालबाट उत्पन्न हुने नदीहरूलाई अझ बढी अनियन्त्रित र आक्रामक बनाएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

प्रतिवेदनअनुसार हिमालय क्षेत्र विश्वव्यापी औसतभन्दा झण्डै दोब्बर गतिले तातिरहेको छ । यसका कारण वर्षौंदेखि जमेको माटो तथा चट्टान अर्थात् परमाफ्रोस्ट पग्लिँदै जाँदा नदी किनार कमजोर बन्दै गएका छन् । साथै हिमनदीहरू तीव्र गतिमा पग्लिँदा नदीमा पानी र गेग्रानको प्रवाह बढेको छ, जसले किनारमा थप दबाब सिर्जना गरिरहेको अध्ययनले जनाएको छ ।

नेपाल र भारतमा सबैभन्दा धेरै असर

अनुसन्धान रिपोर्टमा हिमालबाट उत्पन्न नदी प्रणालीमा निर्भर झण्डै दुई अर्ब मानिसको जीवनयापनमा यसको प्रत्यक्ष प्रभाव पर्ने चेतावनी दिइएको छ । नेपाल र भारतलाई यस संकटको सबैभन्दा बढी असर पर्ने देशका रूपमा औंल्याइएको छ ।

विशेषगरी नेपाल र भारतमा निर्माण भइरहेका जलविद्युत आयोजना, बाँध, पुल तथा सडकजस्ता पूर्वाधारमा उच्च जोखिम देखिएको छ । नदीहरूले धार परिवर्तन गर्ने क्रम तीव्र बन्दै जाँदा यस्ता संरचना कुनै पनि बेला बाइपास हुने, बाढीले बगाउने वा गेग्रानले पुरिने सम्भावना बढ्ने अध्ययनको निष्कर्ष छ ।

प्रतिवेदनले नेपाल–भारत सीमाक्षेत्र हुँदै बग्ने नदीहरूको बाढी मैदान, विशेष गरी कोशी नदी क्षेत्रमा गेग्रान थुप्रिने र नदी अस्थिर हुने प्रक्रिया तीव्र भइरहेको जनाएको छ । यसले नेपालको पहाडी तथा तराई क्षेत्रसँगै भारतका बिहार र उत्तरप्रदेशमा ठूलो बाढी, कटान तथा धनजनको क्षति निम्त्याउन सक्ने अध्ययनले चेतावनी दिएको छ ।

नदीको बहाव अनियन्त्रित हुँदा करोडौं किसानले प्रयोग गर्ने सिँचाइ प्रणाली प्रभावित हुने र त्यसले खाद्य तथा पानी सुरक्षामा समेत असर पार्ने प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनको निष्कर्षमा हिमाली नदीहरूको तीव्र परिवर्तनलाई जलवायु परिवर्तनको स्पष्ट ‘भू–आकृतिक संकेत’का रूपमा व्याख्या गरिएको छ । अनुसन्धानकर्ताहरूले यो परिवर्तन स्थानीय भू–बनोट वा मानवीय हस्तक्षेपभन्दा मुख्य रूपमा जलवायु परिवर्तनकै परिणाम भएको बताएका छन् ।

वैज्ञानिकहरूले नेपाल र भारतका सरकार तथा नीति–निर्मातालाई अबका विकास योजनामा ‘क्लाइमेट–फ्लुभियल फिडब्याक’ अवधारणालाई अनिवार्य रूपमा समावेश गर्न सुझाव दिएका छन् । हिमाली क्षेत्रमा निर्माण हुने ठूला पूर्वाधार तथा जलविद्युत आयोजनाको योजना बनाउँदा नदीको धार परिवर्तनको सम्भावित दरलाई वैज्ञानिक आधारमा मूल्याङ्कन नगरे भविष्यमा अर्बौं रुपैयाँको लगानी जोखिममा पर्न सक्ने चेतावनी प्रतिवेदनले दिएको छ ।

सम्बन्धित खबर