
झापा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा चलिरहेको युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न सबै देशहरूले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आह्वान गर्नुभएको छ ।
अमेरिकाको न्युयोर्कमा आयोजित सन् २०२६ को वसन्त बैठकको उद्घाटनका अवसरमा बोल्दै उहाँले एक्लाएक्लै निर्णय लिने, निर्यात नियन्त्रण गर्ने वा मूल्य नियन्त्रणजस्ता कदमहरूले विश्व आर्थिक अवस्थालाई अझ अस्थिर बनाउन सक्ने चेतावनी दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आईएमएफ प्रमुख जर्जिएभाकाअनुसार प्रत्येक देशका वित्तीय निकायहरूले कमजोर वर्गलाई लक्षित गरी सीमित र अस्थायी सहयोग प्रदान गर्नुपर्छ । यसले आर्थिक दबावमा परेका नागरिकलाई राहत दिन सहयोग गर्ने उहाँले बताउनुभयो ।
त्यसैगरी आईएमएफ प्रमुखले केन्द्रीय बैंकहरूलाई पनि सचेत रहन आग्रह गर्दै मुद्रास्फीति अनियन्त्रित हुने सङ्केत देखिएमा ब्याजदर बढाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले यस्तो कदमले मूल्यवृद्धिको चक्रलाई नियन्त्रण गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो । साथै आर्थिक सहयोग कार्यक्रमहरू अस्थायी र स्पष्ट समयसीमासहित लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आईएमएफ प्रमुख जर्जिएभाले वित्तीय नियामक निकायहरू पनि सजग, लचिलो र छिटो प्रतिक्रिया दिन सक्ने बन्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
उहाँले सदस्य राष्ट्रहरूलाई आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै मध्यपूर्व युद्धको प्रभावका कारण छोटो अवधिमा भुक्तानी सन्तुलनका लागि सहयोगको माग झन्डै २० अर्बदेखि ५० अर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गनुभएको छ ।


