
झापा । झापामा गएको राति आएको तीब्र हावाहुरीका कारण घर ग्वाली घत्काउने, रुख ढलेर किच्ने, विद्याुतका पोलहरु भाँचिने जस्ता अनेकन क्षतिहरु भएका छन् । विद्याुतका पोलहरु भाँचिने तथा तार चुँडिनाले भलापाका अधिकांश क्षेत्रमा विधुत अवरुद्ध भएको जनाइएको छ ।
अनारमनी वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको प्राधिकरण कार्यालयले जनाएको हो ।
गएराति करिब ११ः०० बजेदेखि सुरु भएको तीव्र गतिको हावाहुरीले गर्दा विद्युतका पोलहरू ढलेका, भाँचिएका तथा उच्च भोल्टेज लाइनहरूमा ठूला–ठूला रुखहरू ढलेर क्षति पर्याएपछि प्रणालीमा अवरोध आएको वितरण केन्द्रले जनाएको छ ।
अनारमनी वितरण केन्द्रका अनुसार मर्मत सम्भार पछि केही स्थानमा लाइन चालु गरिएको छ भने ठूलो क्षति भएका स्थानमा लाइन चालु हुने समयका बारेमा अहिले कुनै टुंगो गर्न सकिएको छैन । धेरै स्थानमा क्षति पुगेपछि अवरुद्ध लाइन खुलाउने बारे टुंगो गर्न नसकिएको हो ।

अवरुद्ध विद्युत सेवालाई यथाशीघ्र सुचारु गर्नका लागि वितरण केन्द्रको प्राविधिक तथा मर्मत टोली बिहानैदेखि फिल्डमा खटाएको छ । वितरण केन्द्रले अचानक भएको यस प्राकृतिक अवरोधबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाएको छ ।
वितरण केन्द्रले सम्भावित दुर्घटनाबाट बच्न र मर्मत कार्यलाई तीव्र बनाउन ग्राहकहरूलाई सहयोगको अपिल समेत गरेको छ ।
कार्यालयले भनेको छ, यदि तपाईंहरूको घर वा टोल आसपासमा विद्युतको पोल भाँचिएको, तार चुडिएको, वा लाइनमा रुख ढलेर क्षति भएको देखिएमा तुरुन्तै सतर्कता अपनाउनुहोला । सोको विवरण र फोटो उपलब्ध गराई सहयोग गर्न वितरण केन्द्रले आग्रह गरेको छ ।


