
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट प्रहरीले एक थान भरुवा बन्दुक र विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।
सर्लाहीकै बागमती नगरपालिका-२ सुकुमवासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनी तीनरचारजनाको समूहमा बन्दु बोक बोकेर हिँडिरहेका थिए । उक्त समूह प्रहरीलाई देख्नासाथ भागेका थिए । तीमध्ये घलान पक्राउ परेका हुन् ।
उनको साथबाट भरुवा बन्दुक थान-१ (एक), सोही बन्दुकको फलामको रड थान-१ (एक), प्लाष्टिकको डब्बासहित कालो रंगको धुलो पदार्थ डिजिटल तराजुमा तौल गर्दा ३५ (पैंतिस) ग्राम र स्टिलको डब्बासहित कालो रंगको धुलो पदार्थ १४० (एकसय चालिस ग्राम), साइकलमा प्रयोग हुने फलामको बल ८० (असी) थान र फलामको रडको टुक्रा ५ (पाँच) थान बरामद गरिएको छ ।
उनलाई हातहतियार खरखजानासम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको छ ।


