२०८३ जेठ ११ सोमवार , ११:५२:५० बजे

Sajhamanch
'

कमलमा पालिकास्तरीय भजन गायन प्रतियोगिता

सोमवार, जेठ ११, २०८३

कमल । झापाको कमल गाउँपालिकामा पालिका स्तरीय भजन गायन प्रतियोगिता सम्पन्न गरिएको छ ।

श्री भजन कीर्तन मण्डली कमल गाउँ कार्यसमिति झापाको आयोजनामा त्रिदिवसीय भजन कीर्तन सम्मेलन तथा पालिका स्तरीय भजन गायन प्रतियोगिता गरिएको हो ।

कमल ६ स्थित लक्ष्मीनारायण मन्दिरको सभाहलमा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा पालिकामा रहेका ४१ वटा कीर्तन मण्डली सहभागी थिए । सहभागीमध्ये १६ वटा कीर्तन समूहले पहिलो चरण पार गर्दै फाइनलमा प्रवेश गरेका निर्णायक समितिका संयोजक कैलाश थापा मगरले जानकारी दिनुभयो ।

फाइनल प्रवेश गरेका कीर्तन मण्डलीमध्ये गायन प्रतियोगितातर्फ कमल ४ को सिद्धार्थहरि कीर्तन मण्डली प्रथम, कमल ३ को राधाकृष्ण कीर्तन मण्डली द्वितिय र कमल २ को लक्ष्मीनारायण कीर्तन मण्डली तृतिय भए ।

निर्णायक समितिका संयोजक मगरका अनुसार कमल ३ को पाथीभरा कीर्तन मण्डली र कमल ५ को माता पाथीभरा कीर्तन मण्डलीले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । प्रथम, द्वितिय र तृतिय हुने कीर्तन मण्डलीलाई क्रमशः ७ हजार, ५ हजार र २ हजार रुपैयाँ र सान्त्वनालाई एक हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो ।

त्यस्तै भजन गायकहरुको पहिरन भेषभुषातर्फ कमल ३ को सिंहदेवी कीर्तन मण्डली प्रथम, कमल ५ र ६ को गीताञ्जलि कीर्तन मण्डली द्वितिय र कमल ४ को सिद्धदेवी कीर्तन मण्डली तृतिय भएका निर्णायक समिति संयोजक थापाले जानकारी दिनुभयो ।

त्यस्तै उत्कृष्ट प्रतिवेदन पेशगर्ने कीर्तन परिवारतर्फ कमल ६ स्थित पुष्पाञ्जली कीर्तन मण्डली प्रथम, कमल ३ स्थित लक्ष्मीनारायण कीर्तन मण्डली द्वितिय तथा कमल ५ स्थित जेष्ठ नागरिक कीर्तन मण्डली तृतिय भएका श्री भजन कीर्तन मण्डली कमल गाउँ कार्यसमिति अन्तरगत लेखा समिति संयोजक फणिन्द्र गड्तौलाले जानकारी दिनुभयो ।

भेषभुषा तथा प्रतिवेदनतर्फ प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः २ हजार १ हजार ५०० र १ हजार नगदसहित प्रमाण पत्रद्वारा पुरस्कृत भए ।

वैदिक सनातन धर्मलाई संरक्षण गर्दै भजन कीर्तनमार्फत सभ्य समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

भावी पुस्तालाई सनातन धर्मका बारेमा जानकारी गराउँदै लोप हुँदै गएको संस्कार र संस्कृतिका बारेमा समेत युवालाई सचेतना जगाउनका लागि कार्यक्रम आयोजना गरिएको श्री भजन कीर्तन मण्डलीका केन्द्रीय अध्यक्ष बलभद्र सिवाकोटीले बताउनु भयो ।

सम्बन्धित खबर