
नयाँदिल्ली । छिमेकी मुलुक भारतले आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ को उपाधि जितेको छ ।
१०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तरगत अहदमाबाद रंगशालामा आइतबार भएको फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै ट्रफी हात पारेको हो ।
तीनपटक विश्वकप ट्रफी जित्ने भारत पहिलो राष्ट्र बनेको छ । यसअघि भारत, इंग्ल्यान्ड र वेस्ट इन्डिज समान दुईपटक विश्वविजेता बनेका थिए । भारतले चारमध्ये तीन फाइनल आफ्नो नाममा लेखाउँदै उपाधि हात पारेको हो ।
सन् २०१६ को विश्वकप फाइनलमा मात्र भारत श्रीलंकासँग पराजित भएको थियो । टी–२० विश्वकप उपाधि रक्षा गर्ने भारत पहिलो राष्ट्र बनेको छ । घरेलु मैदानमा पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेट गुमाएर २५५ रनको विशाल योगफल खडा गरेको थियो । भारत कीर्तिमानी रूपमा एकै विश्वकपमा लगातार तीन खेलमा २५० रनको योगफल कटाउन सफल भयो ।
यसअघि सुपर ८ को समूह ‘१’ मा जिम्बावे र सेमिफाइनलमा इंग्ल्यान्डविरुद्धको प्रतिस्पर्धामा भारतले २५० रनभन्दा माथिको योगफल बनाएको हो । टी–२० विश्वकप फाइनलमा पहिलो ब्याटिङ गरेको टोलीले २५० रनमाथिको योगफल खडा गरेको थियो । कीर्तिमानी रूपमा २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा सबै विकेट गुमाएर १५९ रनमा समेटियो ।
लक्ष्य रक्षा गरेको इनिङ्समा जसप्रीत बुमराहले धारिलो प्रदर्शन गरे । उनले चार ओभरको बलिङमा १५ रन मात्र खर्चेर चार विकेट हात पारे । यसैगरी अक्षर पटेलले तीन ओभरमा २७ रन दिएर तीन विकेट लिए । हार्दिक पान्ड्या, वरुण चक्रबर्थी र अभिषेक शर्माले समान एक विकेट लिए ।
न्युजिल्यान्डको ब्याटिङमा दुई ब्याट्सम्यानले मात्र भारतविरुद्ध डटेर ब्याटिङ गरेका थिए । ओपनर टिम सेफर्टले २६ बलमा पाँच छक्का र दुई चौका प्रहार गरी सर्वाधिक ५२ रनको योगदान दिए । कप्तान मिचेल साटनरले ३५ बल खेलेर दुई छक्का र तीन चौकाको सहयोगमा ४३ रन जोडेका थिए ।
इनिङ्सको ८.१ ओभरमा सेफर्टले विकेट गुमाएका थिए । उनी आउट हुँदा न्युजिल्यान्डले ७२÷५ को प्रदर्शन गरेको थियो । भारतले भने आवश्यक परेका वेला विकेट लिँदै न्युजिल्यान्डमाथि दबाब बनाएको थियो । कप्तान मिचेलले १७.३ ओभरमा आफ्नो विकेट गुमाउँदा न्युजिल्यान्ड फराकिलो हारतर्फ उन्मुख भयो ।
सामसन म्यान अफ दी सिरिज र बुमराह म्यान अफ दी म्याच
१०औँ टी–२० विश्वकपमा तेस्रोपटक विश्व च्याम्पियन बनेको भारतका खेलाडी नै उत्कृष्ट खेलाडी बनेका छन् । लगातार तीन खेलमा भारतको जितमा प्रमुख निर्वाह गरेका ओपनर सन्जु सामसन म्यान अफ दी सिरिज भएका छन् । उनले पाँच खेलमा पाँचैपटक ब्याटिङ गरी ३२१ रन जोडेका थिए । सामसनले जिम्बावेसँगको सुपर ८, इंग्ल्यान्डविरुद्ध सेमिफाइनल तथा न्युजिल्यान्डसँगको उपाधि भिडन्तमा अर्धशकीय योगदान दिएका थिए । विकेटकिपिङका क्रममा उनले तीन क्याच लिएका थिए ।
यसैगरी, मुख्य बलर जसप्रीत बुमराह फाइनलका म्यान अफ दी म्याच बनेका छन् । उनले १५ रन खर्चेर चार विकेट हात पारेका थिए । इकोनोमी रनरेटमा बुमराहले भारतकै वरुण चक्रबर्थीलाई पछि पार्दै सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमाथि कब्जा जमाए । बुमराह र वरुणले समान १४ विकेट लिएका छन् ।


