२०८२ फागुन १ शुक्रवार , १२:०४:४४ बजे

Sajhamanch
'

झापा गोल्ड कप : मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा

बिहिवार, माघ २९, २०८२

बिर्तामोड । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब झापा गोल्ड कपको आजको खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको हो ।

सुरुवाती अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा भने मलेसियाको दबाब सामना गरेको थियो । दोस्रो हाफको अधिकांश समय बल पोजिसन राखे पनि मलेसियाले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट घर फर्किएको छ ।

खेलको १९औं मिनेटमा मछिन्द्रले अग्रता लियो । डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मछिन्द्रका सनिश श्रेष्ठले गोलमा परिणत गरेका थिए । गोलकिपरको हातबाट फुत्किएको बलले मलेसियाका खेलाडीलाई टच हुँदै गोल भएको थियो ।

मछिन्द्रले दोस्रो गोल ८०औँ मिनेटमा लगायो । मछिन्द्रका लागि विदेशी खेलाडी जोनाथन जोरिल्लाले दोस्रो गोल गरेका थिए । मलेसियाका डिफेन्डर मार्टिन डामिलोलेको खुट्टाबाट फुत्किएको बललाई जोरिल्लाले चिप गर्दै गोल गरेका हुन् ।

मलेसियाका लागि एकमात्र गोल खेलको ६०औँ मिनेटमा जोन जिडेइनाले गरे । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातबाट फुत्किएको बललाई उनले गोलमा परिणत गरेका थिए ।

खेलको ३५औँ मिनेटमा मछिन्द्रका प्रदिप बुढाथोकीले वान भर्सेस वान गोल फिनिसिङ गर्न नसक्दा गोल अन्तर बढाउने मौका गुमाएको थियो ।

खेलको ८८औँ मिनेटमा मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङको प्रहार क्रसबारमा लागेर बाहिरिँदा गोल अन्तर तेब्बर बनाउने अवसर गुमेको थियो ।

मलेसियाका डेभिड ओलाएको प्रहार मछिन्द्रका गोलकिपर श्रेष्ठले रोक्दा बराबरी गोल गर्न चुकेको थियो । अतिरिक्त समयमा जोन जिडाइनाको प्रहार पोष्टमा लागेर फर्किदा मलेसिया खेलमा कम ब्याक गर्न असफल भएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

शुक्रबारको पहिलो सेमिफाइन खेल आयोजकको टिम झापा–११ एफसी र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच हुनेछ ।

सम्बन्धित खबर