२०८२ पौष १५ मङ्गलवार , ०७:३८:५१ बजे

Sajhamanch
'

५ महिनामा ४ खर्ब ९ अर्ब राजस्व सङ्कलन, घरजग्गा र शेयर बजार कारोबार घट्दा लक्ष्य भेट्न कठिन

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व उठाएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको कर राजस्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड रुपैयाँ सरकारले आम्दानी गरेको हो । यो लक्ष्यको तुलनामा ७८ दशमलव ७४ प्रतिशत हो । गएको वर्षको यही अवधिको तुलनामा राजस्व १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका सहसचिव टङ्कप्रसाद पाण्डेयले प्रतिकूल परिस्थितिमा पनि राजस्व गएको वर्षभन्दा सकारात्मक उठेको जानकारी दिनुभयो । उहाँका अनुसार राजस्वको चार वटा क्षेत्र अन्तर्गत भन्सार, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कमा राजस्व सङ्कलन सकारात्मक रूपमै उठिरहेको छ ।

तर आयकरतर्फ गएको वर्षको तुलनामा ८ प्रतिशतले नकारात्मक वृद्धिदर छ । वृद्धिदर नकारात्मक हुनुमा बजारमा ब्याजदर घट्नु र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आउनु मुख्य कारण रहेको उहाँको भनाइ छ ।

सहसचिव पाण्डेयका अनुसार मङ्सिरसम्मको लक्ष्य नभेट्नुको अर्को कारण पूँजीगत लाभकरमा कमी आउनु पनि हो । घरजग्गा कारोबार शिथिल हुँदा त्यसले नेपाल सरकारलाई प्राप्त हुने पूँजीगत लाभकरमा कमी आएको र लक्ष्य भेट्न सकस परेको उहाँले जानकारी दिनुभयो ।

घरजग्गाका कित्ताकाट खुलिसकेको र शेयर कारोबारमा पनि वृद्धि हुने आँकलनले आउँदा दिनमा राजस्व बढ्ने अर्थ मन्त्रालयको विश्वास छ । मन्त्रालयका अनुसार आउँदो चुनावमा हुने खर्च र पुनर्निर्माणमा गरिने खर्चले पनि राजस्व वृद्धिमा सहयोग पुर्‍याउने र लक्ष्य भेट्नेछ ।