२०८३ वैशाख २ बुधवार , ०९:५२:४८ बजे

Sajhamanch
'

श्रीलक्ष्मीनारायण मन्दिरमा ‘दिव्यदेश प्रतिष्ठा’ गरिँदै

बुधवार, वैशाख २, २०८३

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कनकाई नदीको पश्चिम तटमा रहेको श्रीलक्ष्मीनारायण मन्दिरमा आगामी वैशाख ११ देखि १८ गतेसम्म श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) महोत्सव आयोजना हुने भएको छ।

आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै महोत्सवको उद्घाटन कोशी प्रदेश प्रमुख हिक्मत कार्कीको प्रमुख आतिथ्यमा हुने जनाएको छ। उद्घाटन समारोहमा कलश यात्रासहित अर्जुधारा जलेश्वरधामबाट ल्याइएको पवित्र जल अर्पण गरिने कार्यक्रम रहेको छ।

महोत्सव अवधिभर श्रीराम कथा प्रवचन, ध्वजारोहण, मृदाहरण, पञ्चकुण्डात्मक हवन, महासम्प्रोक्षण अनुज्ञा, प्रतिष्ठा पूर्वाङ्ग, वास्तुपूजन, स्तुति–प्रार्थना, जलाधिवास, विग्रह कलाकर्षण, स्नपन तथा अभिषेकजस्ता विविध धार्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

समारोहका प्रमुख आचार्यका रूपमा दक्षिण भारतको तामिलनाडु, काञ्चीपुरमस्थित श्रीकाञ्चीप्रतिवादी भयंकर सिंहासनाधीश्वर जगद्गुरु अनन्तश्री विभूषित श्री श्रीविनासाचार्य गादी स्वामीजी महाराजको उपस्थिति रहनेछ । उहाँकै मुखारविन्दबाट श्रीराम कथा प्रवचन हुने वरिष्ठ उपाध्यक्ष हरिप्रसाद तिम्सिनाले जानकारी दिनुभयो।

महोत्सवमा दैनिक दशौँ हजार भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। करिब २ हजार भक्तजनका लागि आवास तथा प्रसादको व्यवस्था गरिनेछ भने सबै सहभागीलाई प्रसाद वितरण गरिने जनाइएको छ। नेपालसहित भारत, भुटान, अष्ट्रेलिया, अमेरिका र क्यानाडाबाट समेत धर्मगुरु, आचार्य तथा विद्वानहरूको उपस्थिति रहने आयोजकको भनाइ छ। कार्यक्रम सम्पन्न गर्न करिब २ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

दक्षिण भारतीय शैलीमा ‘दिव्यदेश’ निर्माण

वि.सं. २०२८ मा स्थापना भई वि.सं. २०५१ मा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको उक्त संस्थाले नेपालका प्रथम जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य स्वामीजी महाराजको मार्गदर्शनमा धर्म, शिक्षा र समाजसेवामा निरन्तर योगदान दिँदै आएको छ।

संस्थाले हाल श्रीलक्ष्मीनारायण मन्दिर, योगिराज स्वामीजीको कुटी मन्दिर, कक्षा १० सम्म अध्ययन हुने श्रीअनन्तादर्श संस्कृत वेद विद्यालय, गौशाला, वैष्णवालय, छात्रावास, पुस्तकालय र यज्ञमण्डप सञ्चालन गर्दै आएको छ।

मूल मन्दिर जीर्ण बन्दै गएपछि वि.सं. २०७८ वैशाख १६ गते दक्षिण भारतीय स्थापत्य शैलीमा ‘श्रीलक्ष्मीनारायण दिव्यदेश’ निर्माणको शिलान्यास गरिएको थियो। करिब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा हालसम्म ११ करोड खर्च भइसकेको छ भने केही काम अझै बाँकी रहेको मन्दिरका सचिव हरिनारायण बाँस्कोटाले जानकारी दिनुभयो।

निर्माण कार्य मुख्यतः भक्तजन तथा स्थानीय दाताहरूको सहयोगबाट सम्पन्न हुँदै आएको छ। भान्साघर निर्माणका लागि कोशी प्रदेश सरकारले हालसम्म ६० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ भने स्थानीय तहबाट १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ।

भारतको तिरुपति मन्दिरमा दर्शनका लागि जानुपर्ने बाध्यता भएका भक्तजनहरूका लागि अब माइधारस्थित यस नवनिर्मित ‘दिव्यदेश’ सहज धार्मिक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर