२०८३ वैशाख २ बुधवार , ०८:३६:१७ बजे

Sajhamanch
'

पहिरोले थङथिलो इलाम : पीडितले पाएनन् राहत

बुधवार, वैशाख २, २०८३

विराटनगर । इलामको बिब्ल्याँटे बजारमा अटो कुदाउने मंगलबहादुर लिम्बूको सपना थियो- बजार नजिकै घर बनाउने ।

मंगलबहादुरले वर्षौं पसिना बगाएर मेची राजमार्गको ठ्याक्कै मुनि जग्गा किनेर घर बनाउन सुरु गरे । तर गत असोज १८ र १९ गतेको अविरल वर्षा र त्यसपछि खसेको पहिरोले उनको त्यो सपनालाई भग्नावशेषको डिलमा पुर्‍याइदिएको छ ।

मंगलबहादुरको बन्दै गरेको घरको माथि र तल पहिरो गएको छ । ‘निकै खर्च भइसक्यो, पहिरो नगएको भए यतिबेला नयाँ घरमा बसिसक्थ्यौं,’ उनी भन्छन्, ‘अहिले अन्योल छ ।’ दुःखले जोडेको सम्पत्ति आँखा अगाडि नै पहिरोको चेपमा पर्दा उनी चिन्तित छन् ।

मंगलबहादुर प्रतिनिधि मात्र हुन् । पहाडकी रानी भनेर चिनिने इलाम अहिले पहिरोका कारण थङथिलो बनेको छ ।

गत १८ र १९ असोजमा आएको भारी वर्षापछिको बाढी-पहिरोले इलाममा सडक, पुल, भवन, खानेपानी, सिंचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ रुपैयाँ बराबरको क्षति भएको थियो ।

बाढी र पहिरोमा परी ३९ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए । बाढी-पहिरोले ३६५ घर पूर्ण रूपमा क्षति भएका थिए । ९४० घरमा आंशिक क्षति पुगेको थियो ।

सरकारले पूर्ण क्षति बेहोरेको परिवारलाई पुनर्निर्माण प्राधिकरणबाट घर बनाइदिने घोषणा गरेको थियो । तर अहिलेसम्म पीडितले पुनर्निर्माणको काम सुरु गर्न राज्यले दिने भनेको रकम पाएका छैनन् ।

इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार बाढी प्रभावितलाई दिने भनिएको राहत रकम अझै वितरण भइसकेको छैन । ‘अहिले अस्थायी आवासका लागि रकम निकासा भएको छ,’ उनले भने, ‘स्थायी आवासका लागि राहत दिने प्रक्रिया अघि बढेको छैन ।’

इलाममा बाढी-पहिरो प्रभावितमध्ये २५० भन्दा बढी परिवारले अस्थायी आवासका लागि रकम लगिसकेको उनले बताए । अस्थायी आवासको काम सकिएलगत्तै स्थायी आवासको प्रक्रिया सुरु हुने उनले जानकारी दिए ।

पालिकाहरूले पीडितको विवरण अनलाइनमा प्रविष्ट गर्ने र राष्ट्रिय विपद् प्राधिकरणबाट स्वीकृत भएर आउने चरणमा छ । संघीय सरकारको घोषणाअनुसार साढे चार लाख रुपैयाँ तीन किस्तामा उपलब्ध हुने ढकालले बताए ।

इलामका प्रदेश सांसद तथा पूर्वआर्थिक मामिला तथा योजना मन्त्री राम रानाका अनुसार तीन तहको सरकारबीच समन्वय नहुँदा अर्को बर्खा आउने बेलासम्म पनि पीडित परिवारले राहत पाएका छैनन् ।

‘प्रदेश सरकारले घर बनाइदिने घोषणा गरे पनि केन्द्रको पुनर्निर्माण प्राधिकरणको नियममा तीन तहले मिलेर काम गर्नुपर्ने प्रावधान रहेछ,’ उनले भने, ‘पर्याप्त समन्वय नहुँदा काममा ढिलाइ भयो । पीडितले राहत पाएका छैनन् ।’

थङथिलो मेची राजमार्ग

इलाम र पूर्वी पहाडलाई तराईसँग जोड्ने लाइफलाइन मानिने मेची राजमार्ग अहिले धराप जस्तै छ । इलाम खण्डमा मात्रै साना–ठूला गरी २०० भन्दा बढी स्थानमा पहिरो गएको छ । बिब्ल्याँटेबाट उत्तर, राजदुवालीसहित ठाउँठाउँमा सडक धराप छ ।

राजमार्गको राजदुवाली खण्डको कथा अझै भयावह छ । राजदुवालीको पूरै सडकखण्डमा पहिरो छ । अहिले पहिरोमाथि नै अस्थायी ट्र्याक बनाएर जोखिमपूर्ण रूपमा गाडीहरू गुडिरहेका छन् ।

सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इन्जिनियर अर्जुन घिमिरेका अनुसार राजदुवालीको समस्या बाहिर देखिएभन्दा गहिरो छ । उनका अनुसार अध्ययन टोलीले राजदुवालीको पहाड खस्नुको मुख्य कारण जमिन भित्रको पानी रहेको निष्कर्ष निकालेको छ ।

पहाडको भित्री भागमा थुप्रिएको पानीले माटोलाई कमजोर बनाएका कारण पहिरो झरिरहेको छ । अहिले सो क्षेत्रमा पानी बाहिर निकाल्न पहाडको फेदमा ड्रिलिङ गरेर पानी निकालिँदै छ ।

‘जमिनभित्र रहेको पानीका कारण पहिरो खसिरहेको विज्ञले रिपोर्ट दिएपछि अहिले पानी निकाल्ने काम भइरहेको छ,’ घिमिरेले भने,‘ राजदुवालीको पहाडको मुनि (माईखोला किनारमा) ड्रिलिङ गरेर पानी बाहिर निकाल्ने काम भइरहेको छ ।’

इन्जिनियर घिमिरेका अनुसार, पहिरोले छियाछिया पारेको सडक पूर्ण रूपमा पुनर्स्थापना हुन केही वर्ष लाग्नेछ । ‘बहुवर्षीय योजनाअन्तर्गत १ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित भएर ठेक्का आह्वान गरिएको छ,’ उनले थपे, ‘पहिरो गएको स्थानमा पुनर्निर्माणको काम भइरहेको छ ।’ मेची राजमार्गको पहिरो नियन्त्रणका लागि चार वटा प्याकेजमा काम अघि बढेको उनले बताए ।

धोबीधारादेखि नेपालटार खण्डमा दुई वटा, बाखखोरदेखि राँकेसम्म एउटा र पाँचथरको फिदिम खण्डका लागि एउटा प्याकेजमा ठेक्का लागेको छ । तर ठूलो पहिरो भएका कारण तत्कालै रोकथामको सम्भावना कम छ । जसले गर्दा आगामी मनसुनमा फेरि उही सास्ती खेप्नुपर्ने जोखिम छ ।

मुख्य राजमार्ग अवरुद्ध हुँदा इलाम जोड्ने वैकल्पिक सडकहरू पनि उत्तिकै प्रभावित छन् । दानाबारी–इलाम खण्डको बेलासेमा पुल भासिएपछि त्यस क्षेत्रको सम्पर्क विच्छेद भएको थियो । अहिले बेलासेमा बेलिब्रिज राख्नका प्रक्रिया अघि बढेको छ ।

यातायातका लागि खोलामा डाइभर्सन बनाइएको छ । तर सानो झरीमा पनि माइखोलाको बाढीले डाइभर्सनमा क्षति पुग्ने हुँदा यातायात सञ्चालनको सम्भावना कमजोर छ । दानाबारी खण्डमै सडक निर्माणको काम चलिरहेका कारण सवारी चलाउन मुस्किल छ ।

पुवा खोला र सिमलडाँडा–तिलकेनी सडकमा पनि बेलिब्रिज राख्ने प्रक्रिया अघि बढेको छ । यी बेलिब्रिजहरू भारत सरकारको अनुदानमा निर्माण हुन लागेका हुन् ।

गत असोजमा आएको भारी वर्षापछिको बाढी-पहिरोले इलाममा सडक, पुल, भवन, खानेपानी, सिंचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ रुपैयाँ बराबरको क्षति भएको थियो ।

बाढी-पहिरोबाट सडक डिभिजनअन्तर्गत विभिन्न ११ आयोजनामा ६ अर्ब ९६ करोड ४५ लाख रुपैयाँको क्षति भएको थियो । पूर्वाधार विकास कार्यालयअन्तर्गत ६२ सडकमा दुई अर्ब ३४ करोड ६५ लाख, २५ वटा पुलमा ८५ करोड र ६ वटा भवनमा चार करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजनअन्तर्गत १६ नदी नियन्त्रण आयोजनाको १३ करोड ४६ लाख ६९ हजार, पाँच वटा पहिरो नियन्त्रण आयोजनाको एक करोड ७४ लाख २२ हजार र ७२ सिंचाइ आयोजनामा १७ करोड ७१ लाख ५९ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

तीन हजार ४०९ किसानले ८९२ दशमलव ३२ हेक्टर क्षेत्रमा लगाएको खाद्य तथा नगदेबालीमा २७ करोड ४९ लाख ९५ हजार ७५० र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाअन्तर्गत २५ चिया बगानमा चार करोड ७५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल बाढी-पहिरोपछिको पुननिर्माण ढिलो भएको स्वीकार गर्छन् । उनका अनुसार मेची राजमार्गको राजदुवाली खण्डको सडक पहिरोको अत्यधिक जोखिममा छ । राजदुवाली खण्डमा अहिले पनि पहिरो माथिबाट गाडी कुदिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी ढकाल इलाम जोड्ने बेलासे सडकखण्डमा बेलिब्रिज राखेपछि वैकल्पिक सडक सञ्चालन गर्न सकिने बताउँछन् । उनका अनुसार बाढीले क्षति पुर्‍याएका १४ वटा पुल तत्काल मर्मत नगरे ठूलो क्षति पुग्ने जोखिम छ । ती पुल मर्मतका लागि प्रदेश सरकारलाई आग्रह गरिएको उनले बताए ।