
काठमाडौं । कोशी, बागमती र लुम्बिनी प्रदेशसहित देशका केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका सबैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।
यसैबीच हिजो र अस्ति ठूलो पानी पर्ने पूर्वानुमान भए पनि त्यसअनुसार पानी परेन । मनसुन शुरू भएयता निकै कम पानी परेको मधेश प्रदेशमा यस पटक पनि पर्याप्त पानी पर्न सकेन । पर्याप्त पानी नपरेका कारण मधेशसँगै मध्यपहाडका धेरै ठाउँमा अझै रोपाइँ हुन सकेको छैन ।
सिँचाइको सुविधा नभएका खेतहरु बाँझै छन् । यसपाली मनसुनमा औषतभन्दा बढी बर्षा हुने पूर्वानुमान रहेकोमा मनसुन भित्रिएको डेढ महिनासम्म अपेक्षित वर्षा भएको छैन । तर मनसुनको अवधि अझै झन्डै साढे दुई महिना रहेकोले ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसमविदको भनाइ छ ।